“चुरे संरक्षणमा दिलिपको योगदान ” शीर्षकमा वक्तृत्वकला प्रतियोगिता

|

ढल्केवर

स्वर्गीय ओमप्रकाश महतो (दिलिप) को चौथो स्मृति दिवसको अवसरमा “चुरे संरक्षणमा दिलिपको योगदान ” शीर्षकमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । मंगलबार धनुषाको ढल्केवरस्थित महेन्द्र माध्यमिक विद्यालयमा ओमप्रकाश महतो दिलिप पर्यावरण संरक्षण प्रतिष्ठानको आयोजनामा वक्तृत्वकला प्रतियोगिता गरिएको हो ।

मिथिला नगरपालिकाभित्रका माध्यमिक विद्यालयस्तरीय सो प्रतियोगीका सहभागीहरुले उल्लेखित शीर्षकमा वत्तृmत्व राखेका थिए । प्रतियोगितामा न्यू होराइजन इँगलिस बोर्डिङ्ग स्कूलका सारदा सिंह प्रथम भए । सन् फ्लावर इँगलिस बोर्डिङ्ग स्कूलका सुगम पोखरेल दोस्रो भए भने महेन्द्र माध्यमिक विद्यालयका आनन्दकुमार महतो तेस्रो भएका छन् । त्यस्तै, सार्वजनिक माविका मनिषकुमार महतो, चिल्ड्रेन गार्डेन इँगलिस बोर्डिङ्ग स्कूलका धिरज सिंह र महेन्द्र माविकै शिवजीप्रसाद दाहालले सान्त्वना पुरस्कार हात पारेका छन् ।

प्रतियोगीहरुलाई वन निर्देशनालयका अधिकृत एवम् पर्यावरण संरक्षण अभियानी सुरेश शर्मा, भू तथा जल संरक्षण समाज मधेश प्रदेशका अध्यक्ष बेचनकुमार महतो, वडाध्यक्ष नन्दकिशोर यादव, प्रतिष्ठानका अध्यक्ष सँगमकुमारी महतोलगायतका अतिथिले पुरस्कार प्रदान गरेका थिए ।
धनुषाको मिथिला नगरपालिका ५, श्रीपुरका पर्यावरण संरक्षण अभियन्ता स्वर्गीय ओमप्रकाश भनेर चिनिने दिलिप महतोको सम्झना वक्तृत्वकला प्रयोगिता आयोजना गरिएको थियो । २०७६ साल पुस २५ गते बिहान औरही खोलामा उनको हत्या भएको थियो । घर नजिककैको औरही खोलामा भइरहेको अवैध उत्खनन रोक्न जाँदा टिपरले किचेर उनको हत्या गरिएको थियो ।

उनको हत्या अभियोगमा जिल्ला अदालत धनुषाले २०७९ फागुनमा तीन जनालाई साढे १२ वर्षदेखि २५ वर्षसम्मको कैद सजाय आदेश दिएको छ ।

दिलिपको हत्याको अभियोगमा पक्राउ परेका मिथिला नगरपालिका ५ मा क्रसर उद्योगी विपिन महतोलाई २५ वर्ष कैद र ५ लाख क्षतिपूर्ति भराउने आदेश दिएको हो ।

टिपरले च्यापेर हत्या गरेको भन्दै चालक मिथिला नगरपालिका ९ का मुनीन्द्र महतोलाई पनि २५ वर्ष कैद सजायका साथै ५ लाख जरिवानाको आदेश दिइएको छ ।

लोडरका चालक बर्दिबास नगरपालिका २ का जितेन्द्र कुमार महतोलाई हत्यामा मतियारको भूमिका खेलेको भन्दै १२ वर्ष ६ महिना कैद र २ लाख ५० हजार क्षतिपूर्ति भराउने आदेश भएको छ ।

सोही अभियोगमा पक्राउ परेका अन्य ४ जनाको हत्यामा संलग्नता नदेखिएको भन्दै धनुषा जिल्ला अदालतले सफाइ दिएको छ ।