तराइमा शीतलहरको कहर, विपन्न बढी मारमा

|

विजयकुमार साह
ढल्केवर

धनुषालगायत तराई मधेशका जिल्लामा शीतलहरसँगै चिसो बढेको छ । चिसो र शीतलहरबाट सबै क्षेत्र अस्तव्यस्त बने पनि सबभन्दा बढी विपन्न परिवार मारमा परेको छ । दिनभर काम गरेर साँझ बिहान छाक टार्ने विपन्न परिवार मारमा परेका हुन् । ओढ्ने ओछ्याउने कपडा पर्याप्त नहुँदा विपन्न परिवारका वृद्धवृद्धा, सुत्केरी र बालबालिकालाई चिसोबाट बच्न गाह्रो भएको छ । शीतलहरबाट बच्न आगो ताप्नुबाहेकको विकल्प विपन्न समुदायसँग छैन ।

धनुषाको मिथिला नगरपालिका ४, मुसहरी टोलका ६० वर्षीय गुलाम सादा चिसो बढेर हरिबिजोग भएको बताउँछन् । गाउँघरमा कृषि मजदुरी गरेर परिवार पाल्दै आएको बताउने सादाले चिसो बढेसँगै रोजगारीसमेत गुमेको सुनाउनुभयो । चिसो बढेसँग गृहतले खेतमा काम लगाउन छोेडेपछि हाम्रो रोजगारी गुमेको छ । जसले गर्दा यस्तो चिसोमा हातमुख जोर्न बडो मुश्किल भएको छ, उहाँले भन्नुभयो ।

सादाको पाँच जना छोराछोरी र श्रीमती गरी सात जनाको परिवार छ । पुरै परिवारको सदस्यको शरीरमा लगाएको लुगाबाहेक अरु न्यानो कपडा छैन । जसले गर्दा उहाँहरु दिनभर आगो तापेर समय बिताउनुहुन्छ । उहाँहरु सुत्नलाई परालको ओछ्यान र परालकै ओढ्ने बनाउनुभएको छ । मजदुरीबाट भएको आम्दानी परिवारको पेट पाल्नमै सकियो । “अहिले खानलाई घरमा अन्न छैन । आङ्ग ढाक्ने बस्त्र छैन । हामी गरिबको जीवन नर्क जस्तै छ,” सादाले आफ्नो पीडा सुनाउँदै भन्नुभयो ।

शीतलहरले सादा मात्रै एक्लो दुखी छैनन् धनुषाको सबैजसो विपन्नको अवस्था उस्तै छ । विपन्न परिवार आगो तापेर तथा परालको भरमा चिसो काट्न बाध्य छन् । परालकै आगो ताप्ने र परालकै ओढ्ने ओछ्यान बनाएर चिसोबाट जोगिने प्रयास गरिरहेका छन् ।
सोही मुसहरी टोलका ४५ वर्षिय गङ्गाराम सादा चिसोबाट बच्न आगो ताप्नुबाहेक अरु उपाय नभएको बताउनुभयो । घरमा न्यानो लुगा नभएको बताउँदै उहाँले जाडोका कारण दैनिकी कष्टकर बनेको जानकारी दिनुभयो ।

आफूसहित छ जनाको परिवार रहेको बताउँदै गङ्गारामले थरथर काँप्दै रात बित्ने गरेको सुनाउनुभयो । उहाँले पनि परालकै ओछ्यान र पुरानो झुलमा पराल भरेर ओढ्ने गरेको बताउनुभयो । “कमाएको जति खान पनि पुग्दैन अनि कहाँबाट किन्नु सिरक र डसना । हाम्रो लागि त यही हो सिरक र डसना,” उहाँले भन्नुभयो ।

प्रदेश सरकारले २० हजार विपन्नलाई कम्बल वितरण गर्ने
मधेस प्रदेश सरकारले शीतलहर तथा चिसोबाट प्रभावित २० हजार विपन्नलाई कम्बल वितरण गर्ने तयारी थालेको छ । शीतलहरबाट प्रभावित विपन्नको तथ्याङ्क सङ्कलन गरी कम्बल वितरण गर्ने तयारी सुरु गरिएको मधेस सरकारका गृह सञ्चार तथा कानुन मन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता मोहम्मद समिमले बताउनुभयो ।

प्रदेश सरकारले सुरक्षा निकाय सम्मिलित प्रदेश विपद् व्यवस्थापन समितिको बैठकबाट शीतलहरबाट प्रभावित विपन्नको तथ्याङ्क सङ्कलन गर्ने र त्यही आधारमा कम्बल वितरण गरिने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

चिसोबाट हुनसक्ने क्षतिको विषयमा सर्वसाधारणलाई जनचेतना जगाउने, विपद् व्यस्थापन तथा जोखिम न्यूनीकरणको क्षेत्रमा काम गर्ने जिल्ला प्रशासन कार्यालय, स्थानीय तह तथा गैर सरकारी संघसँस्थासँग समन्वय गरेर आवश्यकता अनुसार थप कार्यक्रम गर्न सरकार गम्भीर रहेको मन्त्री समिमले बताउनुभयो ।