मिथिला लघुवित्त सञ्चालक समितिको अध्यक्षमा मनोज दास चयन

|

ढल्केवर

धनुषाको ढल्केवरमा केन्द्रीय कार्यालय रहेको मिथिला लघुवित्त संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा मनोज दास चयन भएका छन् ।

शनिबार लालगढको बौवा होटलको सभाकक्षमा सम्पन्न १५ औं वार्षिक साधारणसभाबाट उनी अध्यक्ष पदमा सर्वसम्मतिबाट चयन भएका हुन् । साधारणसभाले अध्यक्षमा दाससहित सातजना पदाधिकारी सर्वसम्मतिबाट चयन गरेको छ ।

यस्तै, सदस्यहरुमा दिनेश राय, किशोरी साह, मन्दिरा आचार्य, पुजाकुमारी सिंह, दुर्गाप्रसाद सिंह दनुबार र सर्वसाधारण शेयरधनीबाट विनोद साह चयन भएका छन् ।

संस्थाको पूर्व अध्यक्ष श्यामप्रसाद साहको अध्यक्षता तथा मिथिला नगरपालिकाकी नगर उपप्रमुख सुनितासिंह बुढाथोकीको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको छ ।

सो साधारणसभाको विशिष्ठ अतिथिमा ऋद्धिसिद्ध बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजलाल महतो, अतिथिमा मिथिला नगरपालिका–७ का वडाध्यक्ष रामबहादुर स्याङ्गदनलगायत अतिथि, संस्थाका पदाधिकारीलगायत सदस्यहरुको उपस्थिति रहेको थियो ।