ढल्केवर, धनुषा
पर्यावरण संरक्षण अभियन्ता एवम् वन निर्देशनालय मधेश प्रदेशका वन अधिकृत सुरेश शर्मालो जानकी मन्दिरको जानकी फूलबारीमा २२५ वटा तुलसीका विरुवा रोप्ने भएका छन् । माघ ८ गते भारतको अयोध्यामा नवनिर्मित भगवान राम मन्दिरमा प्राण प्रतिष्ठा गर्ने दिन उहाँले बहुउपयोगी तुलसीको विरुवा रोप्ने भएका हुन् ।
धार्मिक दृष्टिले मात्र होइन आध्यात्मक र आयुवेर्दिक दृष्टिले समेत तुलसीको महत्त्व धेरै भएकाले तुलसीको विरुवा रोप्ने तयारी गरेको वन अधिकृत शर्माले बताउनुभयो ।
तुलसीका गुणहरू १०८ वटाभन्दा बढी छन् । ‘धार्मिक दृष्टिकोणका साथसाथै स्वाथ्यका दृष्टिले पनि अत्यन्त उपयोगी छ, अक्सिजनको कमी हुँदा तुलसी महत्त्वपूर्ण हुन्छ’ वन अधिकृत शर्मा भन्छन्, ‘मृत्यु संस्कारमा पनि तुलसीको मोठ र मञ्जरी महत्त्वपूर्ण मानिन्छ’, उहाँले भन्नुभयो ।
यसै गरी तुलसी जुन घरमा हुन्छ, त्यहाँ यमराजका दूतहरू नआउने विश्वास गरिन्छ । त्यस्तै अहिलेको समयमा एलोपेथिक, आयुर्वेदिक डाक्टरहरूले तुलसीको पानी खानाले शरीर स्वस्थ हुने, कुनै विकार भए निराकण हुने उहाँ बताउँछन् ।
तर तुलसीलाई विष्णु भगवानका रूपमै मान्नु पर्ने धारणा उहाँको छ । ‘संस्कार परम्परा र सनातन परम्पराले दिएका कुराहरूमा हामीले हस्तक्षेप गर्न मिल्दैन । तुलसीबारे आयुर्वेदले एक थोक भन्ला, विज्ञानले अर्को थोक भन्ला,’ वन अधिकृत शर्मा भन्छन्, ‘तुलसी, पीपल, शालिग्राम, कुशलाई भगवानका रूपमा मानिएको छ । यो हाम्रो सनातन परम्परा हो ।’
यसैगरी, उहाँले सोही दिन विवाह मण्डपमा चन्दन र रुदाक्षका विरुवा रोप्न, जनकपुर रेल स्टेशनस्थित हनुमान मन्दिरको परिसरमा पलासको विरुवा, बिषहारा मन्दिर परिसरमा रुद्राक्ष र चन्दनका विरुवा र धनुषाधाममा बरपिपलको बिरुवा रोप्नु छन् ।
उहाँले प्रकृति एवम् संस्कृति संरक्षण अभियान सहभागिता जनाउन तथा आ–आफ्नो स्थानमा यस्तै कार्यक्रमको आयोजना गरेर भगवान रामको नाउँमा एक–एक वटा वृक्षरोपण गर्न अपिलसमेत गर्नुभएको छ ।