ढल्केवर, धनुषा
तराइमा शीतलहर प्रत्येक वर्ष आउँछ । यसले जनजीवन कष्टकर बनाउने मात्रै होइन व्यक्तिको ज्यानै लिने गर्दछ । यस वर्ष पनि तराइमा शीतलहर चलेको तीन साताभन्दा बढी समय भइसक्यो । माघ १३ गतेदेखि चलेको शीतलहर अझै जारी छ ।
शीतलहरबाट सबै क्षेत्र अस्तव्यस्त बनेका छन् । सबभन्दा बढी विपन्न परिवार मारमा परेका छन् । दिनभर काम गरेर साँझ बिहान छाक टार्ने विपन्न परिवार मारमा परेका हुन् । ओढ्ने ओछ्याउने कपडा पर्याप्त नहुँदा विपन्न परिवारका वृद्धवृद्धा, सुत्केरी र बालबालिकालाई चिसोबाट बाँच्न गाह्रो भएको छ । शीतलहरबाट बच्न आगो ताप्नुबाहेकको विकल्प विपन्न समुदायसँग छैन ।
मधेश प्रदेशमा पछिल्लो पाँच वर्षको तथ्याङ्क हेर्ने हो भने शीतलहरका कारण ७५ जनाको ज्यान गएको देखिन्छ । सबैभन्दा बढी २०७४ सालमा धेरैको मृत्यु भएको थियो । २०७४ सालमा सबैभन्दा धेरै रौतहटमा २८, सप्तरीमा १८, महोत्तरीमा तीन, सिरहा र धनुषामा दुई÷दुई तथा पर्सा र सर्लाहीमा एक÷एक जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामको तथ्याङ्कमा उल्लेख छ ।
पछिल्लो पटक २०७९ सालमा शीतलहरकै कारण १० जनाको मृत्यु भएको थियो भने यस वर्ष शीतलहरका कारण कसैको मृत्यु नभएको कार्यालयले जानकारी दिएको छ । यो त शीतलहरका कारण भएको मृत्यु भएको तथ्याङ्क हो । चिसोको असरले हुने विभिन्न रोगबाट धेरैको मृत्यु भइरहेको हुन्छ । यसको तथ्याङ्क कोहीसँग हुँदैन । पचहर्वाका रामदयाल सादा भन्नुहुन्छ, ‘जाडोले बिरामी भएपछि उपचार पाउन नसकेर धेरैको ज्यान गइरहेको हुन्छ । तर यस सम्बन्धी विवरण कोहीसँग हुँदैन ।’
हुन पनि शीतलहरकै कारण कसैको मृत्यु भएको भनेर प्रमाणित गर्न सजिलो छैन । यसका लागि कसैको मृत्यु भएपछि पोस्टमार्टम गर्नुपर्ने हुन्छ । सरकारले सहयोग गर्ने कुनै ग्यारेन्टी नभएका कारण धेरै व्यक्ति यो झन्झटमा अल्झिन नचाहने उहाँ बताउनुहुन्छ ।
सुरक्षित घर, न्यानो लुगा र बाक्लो सिरको अभावमा मधेश प्रदेशमा अहिले ठूलो सङ्ख्यामा चिसोबाट बिच्चलीमा परेका छन् । उहाँहरु यो हिउँदे महिना कसरी कटाउने भन्ने चिन्तामा छन् ।
एक तथ्याङक अनुसार यस प्रदेशमा करिब १५ प्रतिशत जनसङ्ख्यामा यो समस्याबाट पीडित छन् । मधेश प्रदेशको जनसङ्ख्या ६१ लाख २६ हजार दुई सय ८८ छ । यसको १८ प्रतिशत बढी दलित छन् । त्यसमध्ये ५० प्रतिशत दलित अति नै विपन्न छन् । दलित बाहेकको पनि ५ प्रतिशत जनसङ्ख्या अत्यन्त गरीब छ ।
चिसोका कारण गरिब, निमुख्खा जनता न्यानो कपडाको पखाइमा छन् । उहाँहरुका लागि प्रदेश सरकार र स्थानीय तहले न्यानो कपडा तथा चिसोबाट बच्नका लागि प्रबन्ध मिलाउने आश्वासन दिनुका साथै बजेट समेत छुट्याएका छन् । तर, अहिलेसम्म विपन्नको दैलोसम्म कुनै किसिमको सहयोग पुग्न सकेको छैन ।
यता, मधेस सरकारका गृह सञ्चार तथा कानुन मन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता मोहम्मद समिमले पुस २३ गते शीतलहरबाट प्रभावित २० हजार विपन्न परिवारलाई कम्बल वितरण गर्ने घोषण गर्नुभएको छ । उहाँको सो घोषणा पनि मन्त्रालयमै सीमित हुन पुगेको छ । विपन्नसम्म पुग्न सकेको छैन ।
प्रवक्ता समिमले शीतलहर प्रभावित विपन्नलाई बाँड्ने भनिएको कम्बल खरिद भएर गोदाममा आइसकेको बताउनुभयो । उहाँले कम्बल खरिद गरेर शुक्रबार साँझ ल्याइसकेको बताउँदै खरिद पक्रियाका कारण केही ढिलाइ हुन गएको जानकारी दिनुभयो ।
सम्भवत् सोमबारबाट प्रदेशको आठ वटै जिल्ला प्रशासन कार्यालयमार्फत सो कम्बल वितरण गरिने उहाँले बताउनुभयो । “पहिलो चरणमा एक जिल्लामा दुई हजारका दरले कम्बल वितरण गर्ने योजना छ । त्यसका लागि जिल्ला प्रशासन कार्यालयहरुलाई शीतलहरबाट प्रभावित विपन्नको विवरण उपलब्ध गराउन दस दिन अघि नै पत्रचार गरेका छौँ”, प्रवक्ता समिमले भन्नुभयो । पत्रचार गरेअनुसार अहिलेसम्म सप्तरी, सिरहा, धनुषा र सर्लाहीले मात्र विवरणसहित माग गरेको उहाँले बताउनुभयो ।