प्राणप्रतिष्ठाको शुभ साइतमा जानकी फूलबारीमा रोपियो २२५ वटा तुलसी बोट

|

ढल्केवर, धनुषा

भारतको अयोध्यामा भगवान रामको प्राणप्रतिष्ठा गरिएको शुभ साइतमा जनकपुरस्थित जानकी मन्दिर परिसरभित्र रहेको जानकी फूलबारीमा २२५ वटा तुसलीका विरुवा रोपिएको छ । पर्यावरण संरक्षण अभियन्ता एवम् वन निर्देशनालय मधेश प्रदेशका वन अधिकृत सुरेश शर्माले बहुउपयोगी सो तुलसीको विरुवा रोपेका छन् ।

प्रकृति र संस्कृति संरक्षण अभियानअन्तर्गत अयोध्यामा भगवान राम मन्दिरको प्राणप्रतिष्ठा गरिएको शुभ साइत पारेर तुलसीको वुक्ष रोपण गरिएको शर्माले बताउनुभयो । धार्मिक दृष्टिले मात्र नभइ आध्यात्मक र आयुवेर्दिक दृष्टिले समेत तुलसीको धेरै महत्व भएको उहाँले जानकारी दिनुभयो ।

तुलसीका १०८ वटाभन्दा बढी गुण छन् । ‘धार्मिक दृष्टिकोणका साथै स्वाथ्यका दृष्टिले पनि अत्यन्त उपयोगी छ, अक्सिजनको कमी हुँदा तुलसी महत्त्वपूर्ण हुन्छ’ वन अधिकृत शर्माले भन्नुभयो, ‘मृत्यु संस्कारमा पनि तुलसीको मोठ र मञ्जरी महत्वपूर्ण मानिन्छ ।’

यसैगरी, तुलसी जुन घरमा हुन्छ त्यहाँ यमराजका दूत नआउने विश्वास गरिन्छ । त्यस्तै अहिलेको समयमा एलोपेथिक, आयुर्वेदिक डाक्टरले तुलसीको पानी खानाले शरीर स्वस्थ हुने, कुनै विकार भए निराकण हुने उहाँको भनाइ छ । यसैगरी, उहाँले विवाह मण्डप, बिषहारा मन्दिर, जनकपुर रेल्वे स्टेशनस्थित हनुमान मन्दिरको परिसरमा रुद्राक्ष र चन्दनका विरुवा रोप्नुभएको छ ।

सो अवसरमा वन निर्देशनालय मधेश प्रदेशका निर्देशन सुनिल कर्ण, सव डिभिजन वन कार्यालय धनुषाका डिभिजलन प्रमुख बेचन चौधरीलगायत पर्यावरण संरक्षण अभियानहरुको सहभागित थियो ।