
विजयकुमार साह
ढल्केवर, धनुषा
धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–२, सिनरजोडाका ६२ वर्षीय रामकरण दासलाई कुष्ठरोग लागेको बेला घरपरिवार र समाजले गरेको दुव्र्यवहार अझै सम्झना छ । गाउँमा छरछिमेकसँगै आगो ताप्दै गरको अवस्थामा भेटिएका दासलाई ४० वर्षअघि ठिटो उमेरमा कुष्ठरोग लागेको थियो ।
त्यसबखत घरपरिवारदेखि गाउँसमाजबाट निकै दुव्र्यवहार खेप्नुपरेको उहाँ बताउनुहुन्छ । घरपरिवारका सदस्यले खाने थाल र बस्ने, सुत्ने ठाउँसमेत अगल गरिदिएको विगत सम्झँदै उहाँले भन्नुभयो, यो रोग लागेको थाहा पाएपछि केही वर्षअघि मात्र विवाह गरी ल्याएको श्रीमती पनि छोडेर गइन् ।
गाउँसमाज तथा आफन्तले रोग सर्ला भनेर कोही नजिक नआउने गरेको दासको बुझाइ छ । त्यसबेला कोही कुरा गर्न नमान्ने, सँगै आगो ताप्न नदिने, भोजभतेरमासँगै खान नदिने, नाइ धरीले कपाल काट्न नमान्ने गरेको दुखान्त उहाँले सुनाउनुभयो । अहिले भने यहाँका मानिसमा चेतनाको विकास भएपछि पहिला जस्तो हेला खेप्नु नपरेको उहाँको भनाइ छ । “यद्यपि कसैले आवेगमा आएर ‘कुष्ठीबाला’ भनिदिँदा छाती फाटेर आउँछ,” उहाँले भन्नुभयो ।
दास कुष्ठरोगप्रतिको धारणा बदल्न उहाँ आफू पनि सक्रिय हुनुहुन्छ । गाउँघरमा कुष्ठरोगलाई अघिल्लो जन्मको पाप भनि कुष्ठरोग लाग्ने वितिक्कै घरपरिवारबाटै अलग्गै राख्ने विगतको सामाजिक कुरितिकोविरुद्ध उहाँ लाग्नुभएको छ ।
दास सिनगरजोडा स्यवम् सहायता समूहका संयोजकसमेत हुनुहुन्छ । कुष्ठरोग मुक्त, हात्ती पाइले र अपाङ्गता भएका व्यक्ति गरी २५ जना सो समूहमा आवद्ध छन् । समूहका सदस्यले कुष्ठरोगप्रतिको नकारात्मक धारणा हटाउन जनचेतना फैलाउने र समाजमा पुर्नस्थापित हुने कार्य गरिरहेका छन् ।
सोही ठाउँकी ५० वर्षीय रामरसी दासलाई पाँच वर्षअघि कुष्ठरोग लागेको थियो । स्वास्थ्य जाँचपछि नियमित औषधि सेवन गरेपछि उहाँको रोग निको भएको छ । उहाँले सो रोग हुँदा कतैबाट हेला खेप्नु नपरेन बताउनुभयो । घरका सदस्यले औषधोपचार गराउन लैजाने र सँगै खाने बस्ने गरेको रामरसीले सुनाउनुभयो ।
कुष्ठरोग लागेका व्यक्तिलाई कतिपय ठाउँमा अझै घृणाको दृष्टिकोणले हेरिन्छ । माइक्रोब्याक्टेरियम लेप्रे नामक सूक्ष्म किटाणुबाट लाग्ने कुष्ठरोग समयमै उपचार गराएमा पूर्ण रुपमा निको हुन्छ । देशका अधिकांश ठाउँमा कुष्ठरोगीलाई हेर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन नहुँदा कुष्ठरोगी आफ्नो रोग लुकाउन तथा समाजमा खुल्न सकेका छैनन् ।
धेरै ठाउँका कुष्ठरोगी घरपरिवार र समाजबाट अपहेलित भइरहेका बेला धनुषाको लक्षमीनियाँ गाउँपालिकामा भने त्यस्तो अवस्था छैन् । यहाँका कुष्ठरोगीलाई समाजले समान व्यवहार देखाएका छन् । अपनाएका छन् । जसले गर्दा कुष्ठरोग लागेका व्यक्ति आफूलाई कुष्ठरोग लागेको भन्न हिचकिचाउँदैनन् । विगतमा त्यस्ता रोगीलाई हेर्ने दृष्टिकोणमा फरक भएपनि अहिले भने लक्ष्मीनियाँबासीमा परिवर्तन आएको छ । कुष्ठरोगीसँगै बस्ने, सँगै खानेलगायत हरेक क्रियाकलापमा सबैजना सहभागी हुन्छन् ।
सिगरजोडा हेल्थपोष्टका इन्चार्ज कृष्णप्रसाद यादवले कुष्ठरोगीसँग गरिने पहिला जस्तो भेदभाव अहिले नरेको बताउनुभयो । जिल्लामा सबैभन्दा बढी कुष्ठरोगी यसै पालिकामा पहिचान गरिएको बताउँदै उहाँले सिनरजोडा गाउँमा मात्र छ जना सक्रिया कुष्ठरोगी रहेको जानकारी दिनुभयो । कुष्ठरोग औषधि सेवन गरेपछि निको हुन्छ र सर्दैन भन्ने चेतनाको विकास भएको उहाँको भनाइ छ ।
लालगढ कुष्ठरोग अस्पतालका सामुदायिक स्वास्थ्य तथा विकास विभाग प्रमुख रमेश चौधरीले कुष्ठरोगीलाई हेर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन भइरहेको बताउनुभयो । कुष्ठरोग उपचारबाट निको हुने रोग भएकोले यो कुनै अघिल्लो जुनीको पाप नभएको जानकारी दिन जनचेतना, मनोविमर्श शिविर चलाउने गरिएको उहाँले जानकारी दिनुभयो ।
उहाँले कुष्ठरोगी, हात्ती पाइले र अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन मधेश प्रदेशको सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाही तथा बाग्मती प्रदेशको सिन्धुली जिल्लामा गरी ११५ वटा स्वयम् सहायता समूह गठन गरिएको छ । समूहमार्फत उहाँहरुको आर्थिक, सामाजिक र सम्मानपूर्वक बाँच्न सहयोग पुगेको छ । उहाँहरु आर्थिकरुपले सबल बन्न समूह बचत गर्ने गरेको बताउँदै चौधरीले प्रत्येक समूहलाई ७५ हजार रुपियाँ आर्थिक सहयोग गरेर बीउ पुँजी खडा गरिदिएको बताउनुभयो ।
मधेश प्रदेशमा नौसय बढी कुष्ठरोगी
मधेश प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्याङ्क अनुसार प्रदेशको आठ वटै जिल्लामा गरी ९४५ जना कुष्ठरोगी छन् । जसमध्ये सबभन्दा बढी १६७ जना धनुषामा पहिचान गरिएको छ । त्यस्तै, रौतहटमा १५३ जना, सर्लाहीमा १२३ जना, सिराहामा ११८, पर्सामा ११३, बारामा १०९ र सप्तरीमा सबैभन्दा कम ६८ जना कुष्ठरोगी रहेको निर्देशनालयको आर्थिक वर्ष २०७९÷०८० असार मसान्तसम्मको तथ्याङ्कमा उल्लेख गरिएको छ । गोरखापत्रबाट