ढल्केवर, धनुषा
जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न समयमा सवारी जाँच र बेवारिस अवस्थामा फेला परेको मोटरसाइकलको स्वामित्व हक दाबी गर्न आउन सूचना जारी गरेको छ ।
कार्यालयमा सुरक्षित साथ राखिएको २०३ वटा मोटरसाइकल सम्बन्धित धनीलाई स्वामित्व हक दाबी गर्न आउन १५ दिने सूचना आह्वान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रन्जन अबाले बताउनुभयो ।
प्रहरी कार्यालयमा रहेका सवारीसाधन हकदाबी गर्न आउन पटकपटक सूचना जारी गर्दा पनि कोही नआएपछि अन्तिम पटकका लागि माघ २५ गते यो सूचना जारी गरिएको उहाँले जानकारी दिनुभयो । “हकदावी गर्न आउँदा आफ्नो सवारी साधनको सक्कल कागजपत्र लिएर आउनुपर्ने छ । समय सीमाभित्र हकदाबी गर्न नआएमा कानुन अनुसार लिलामी प्रक्रियामा लैजान्छौँ,” उहाँले भन्नुभयो ।
हकदाबी नगरिए यस्ता सवारीसाधन सरकारी तथा जिन्सी मालसामान लिलाम बिक्रीसम्बन्धी कार्यविधि २०७९ को परिच्छेद ३ को नियम २० उपदफा (१) बमोजिम लिलाम बिक्री गरिने प्रवक्ता अबाले बताउनुभयो ।