अध्यक्ष ज्यू, बाल समृद्धिका लागि के–कस्ता योजना बनाउनु भएको छ ?

|

एकडारा, महोत्तरी

महोत्तरीको एकडारा गाउँपालिकामा ‘मेयरसँग बालबालिका’ कार्यक्रम सञ्चालन गरिएको छ । वल्र्ड भिजनको सहयोग तथा दलित समाज उत्थान समिति नेपाल महोत्तरीको आयोजनामा सोमबार ‘मेयरसँग बालबालिका’ कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा एकडारा गाउँपालिकाका–४, हलखोरी सरस्वती बाल क्लबकी अध्यक्ष सञ्चिताकुमारी ठाकुरले गाउँपालिका अध्यक्ष दीपनारायण मण्डललाई प्रश्न गर्दै भने, “तपाईँले बालबालिकाको समृद्धिका लागि के–कस्ता कार्य गर्नुभएको छ र अबका योजना के छ ?” कार्यक्रममा उपस्थिति बालबालिकामध्ये करिब दस जनाभन्दा बढी बालबालिकाले अध्यक्ष मण्डललाई अपाङ्ता बालबालिका, विद्यालय बाहिर रहेका बालबालिका, विपन्न बालबालिका, बाल विवाह रोकथामलगायत बाल समृद्धिका लागि अध्यक्ष तथा गाउँपालिकाले के–कस्ता योजना छन् भनेर प्रश्न गरेका थिए ।


अध्यक्ष मण्डलले बालबालिको प्रश्नको उत्तर दिँदै गाउँपालिकाभित्रका सम्पूर्ण बालबालिकाको समृद्धिको क्षेत्रमा आफूले थुप्रै योजनामा काम गरिरहेको बताउँदै बाल समृद्धि र बालअधिकार प्राप्तिमा कुनै समस्या हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

बालबालिकाकाले आफ्नो सर्वाङ्गिण विकासका लागि बाल सहभागीता, बाल विकास, बाल संरक्षण र बाल बचाउका क्षेत्रहरुमा भएका समस्यासहित गाउँपालिकाले बालबालिकाहरुका लागि गर्नुपर्ने कामहरु बारेसमेत प्रस्ट पारेका थिए ।

बालबालिकाको सुझाव तथा प्रश्नलाई समेट्दै गाउँपालिका अध्यक्ष मण्डलले समृद्ध एकडारा गाउँपालिका निर्माण गर्न बालबालिकामाथि लगानी सुनिश्चित गरि बालबालिकाप्रति संवेदनशील भएको अध्यक्ष मण्डल बताए ।

उनले बालबालीकाको विषयमा नगरपालिकाले नीति कार्यक्रम तर्जुमा गरि अबको कार्यक्रम सामाजिक विकास तर्फको कामहरु उच्च प्राथमिकता दिएर बालबालिकाहरुले दिएका सुझाव सल्लाहलाई ग्रहण गरि बालबालिकाहरुको समस्या समाधान गर्न पालिका सदैव तयार रहेको स्पष्ट पारे । साथै उनले बालमैत्री स्थानीय शासन गाउँपालिका बनाउँन लागि पर्ने पनि विश्वास व्यक्त गरे ।


बालबालिका सम्बन्धि कार्ययोजना तयार गर्ने काम भईरहेको र छलफलबाट प्राप्त सुझाव, सल्लाहलाई समेटेर बालबालिका सम्बन्धि कार्ययोजना तयार पारि बालअधिकार सुनिश्चित गाउँपालिका बनाउन भविष्यका कणर्धार, वर्तमानका साझेदार बालबालिकाहरुलाई केन्द्रमा राखेर पालिकाले नीति कार्यक्रमहरु तय गर्ने अध्यक्ष मण्डलले विचार व्यक्त गरे ।

बालबालिकाहरुले बिद्यालय कक्षा कोठाको समस्या, अव्यबस्थित बसाई, खानेपानी तथा वालमैत्री संरचना लगायतका बिषयमा अध्यक्ष मण्डल संग प्रश्न सोधेका थिए ।

डीएसडब्लुसिएनका अधिकृत प्रेम बुढाथोकीले संचालन गरेको उक्त कार्यक्रममा वल्र्ड भिजनका अनुप राना, दिलिप यादव, सामाजिक परिचालक रामउदिस राम लगायतको उपस्थिती रहेको थियो ।