ढल्केबरमा चौबिसै घण्टा आकस्मिक उपचार सेवा सञ्चालन गर्ने तयारी

|

ढल्केबर । धनुषाको मिथिला नगरपालिकाले चौबिसै घण्टा आकस्मिक उपचार सेवा सञ्चालन गर्ने भएको छ । नगरपालिकाले ढल्केबरमा अवस्थित स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी चौबिसै घण्टा आकस्मिक उपचार सेवा सञ्चालन गर्न

लागेको हो । नगर प्रमुख महेन्द्र महतोले फागुन २० गतेभित्र ढल्केबरमा आकस्मिक उपचार सेवा सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताउनुभयो ।

तयारीको काम अन्तिम चरणमा पुगेको बताउँदै उहाँले सडक दुर्घटनाका घाइते तथा नगरवासीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सो आकस्मिक उपचार सेवा विस्तार गर्न लागिएको जानकारी दिनुभयो । “आकस्मिक उपचार सेवा विस्तारका लागि चाहिने ल्याब, स्वास्थ्य उपकरण तथा जनशक्तिको व्यवस्थापन भइसकेको छ । केही प्राविधिक समस्या देखिएकाले त्यसको समाधान गरेर यो महिनाको अन्तिम सातासम्म जसरी पनि सञ्चालनमा आउँछ,” नगर प्रमुख महतोले भन्नुभयो ।

उहाँका अनुसार आकस्मिक सेवामा दुई जना एमबिबिएस, चार जना एचए, चार जना अनमी, दुई जना स्टाफ नर्स, दुई जना स्विपर र दुई जना फार्मेसी जनशक्तिले सेवा दिने छन् । अस्पताल हाताभित्र नगरपालिकाको आफ्नै फार्मेसी पसलसमेत हुने छ जसमा अस्पतालले निःशुल्क उपलब्ध गराउने औषधीबाहेकको औषधी खरिदमा सेवाग्राहीलाई १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

नगर प्रमुख महतोले आकस्मिक सेवा सञ्चालनमा लागेको सम्पूर्ण खर्च नगरपालिकाको आफ्नै बजेटबाट गरिएको बताउँदै यो सेवा सञ्चालनमा आएपछि आकस्मिक उपचारका लागि निजी उपचार केन्द्रमा महँगो शुल्क तिर्नुपर्ने तथा २४ किलोमिटर टाढा जनकपुर जानुपर्ने बाध्यता हट्ने बताउनुभयो ।