महेन्द्रनगरमा राष्ट्रिय महिला हक्की प्रतियोगिता भोलिदेखि

|

ढल्केवर, धनुषा

धनुषाको महेन्द्रनगरमा प्रथम मदन भण्डारी राष्ट्रिय महिला हक्की प्रतियोगिता फागुन १४ गतेबाट हुने भएको छ । मदन भण्डारी स्पोटर्स एकेडेमीको आयोजना तथा क्षीरेश्वरनाथ नगरपालिकाको सहयोगमा सो प्रतियोगिता हुन लागेको हो ।

आयोजक मदन भण्डारी स्पोटर्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले आइतबार महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भइसकेको बताउँदै सो प्रतियोगिताको उद्घाटन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुने बताउनुभयो । उहाँले महेन्द्रनगरस्थित क्षीरेश्वरनाथ माध्यमिक विद्यालयको खेल मैदानमा फागुन १४ देखि १९ गतेसम्म प्रतियोगिता हुने जानकारी दिनुभयो ।
मधेश प्रदेशका महिला खेलाडीलाई प्रोत्साहन तथा महिला सशक्तिरणमा जोड पुग्ने उद्देश्यले राष्ट्रिय महिला हक्की प्रतियोगिता तराईको भूभागमा गर्न लागिएको आयोजकको भनाइ छ ।

प्रतियोगितामा कर्णाली प्रदेशबाहेक नेपालका छ वटा प्रदेश, एक विभागीय टोली (नेपाल आर्मी) र एक आयोजक टीम गरी आठ वटा टीमको सहभागिता रहने छन् । सहभागी टीमलाई समूह ‘ए’ र ‘बि’ गरी दुई समूहमा विभाजन गरिएको छ ।

प्रतियोगिताका प्रथम हुने टीमलाई एक लाख ५० हजार रुपियाँ, द्वितीय टीमलाई एक लाख रुपियाँ र तृतीय स्थान प्राप्त गर्ने टीमलाई ५० हजार रुपियाँ नगद पुरस्कार, शिल्ड तथा प्रमाणपत्र प्रदान गरिने छ । त्यस्तै, प्रतियोगिताका उत्कृष्ट एक जना खेलाडीलाई नगद १० हजार रुपियाँ प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।