खास समयभित्र विद्यार्थी ओसार्नुपर्ने हतारोले स्कुल बस बढी दुर्घटनामा

|

विजयकुमार साह

ढल्केबर । धनुषामा पछिल्लो समय स्कुल बसले ठक्कर दिने घटना बढेको छ । जिल्लामा एक महिनाको अवधिमा स्कुल बसको ठक्करबाट तीन जनाको मृत्यु र आठ जना घाइते भएको प्रहरीको तथ्याङ्कमा छ ।

निश्चित समयमा थुप्रै ठाउँबाट विद्यार्थी ओसारपसार गर्नुपर्ने हतारोले स्कुल बस दुर्घटनामा पर्ने गरेको स्थानीयको बुझाई छ । जनकपुरका किसन साहका अनुसार विद्यार्थी ओसारपसारका लागि निजी विद्यालयले प्रयोग गर्ने बस गुड्ने रुट धेरै छन् । तर, ती विद्यालयसँग बस सङ्ख्या सीमित हुन्छ । एउटै बसलाई खास समयावधिभित्र धेरैपटक गुडाएर विद्यार्थी ओर्सादा चालकहरू दबाबमा रहने गर्छन् । जसले गर्दा सधैँभरि बसको गति तीव्र हुन्छ । त्यही अधिक गति तथा हतारो कारण स्कुल बस दुर्घटनामा पर्ने गरेका छन् ।

नेपाल प्रहरीका पूर्व डिआइजी केशव अधिकारीले निजी विद्यालयले विद्यार्थी सङ्ख्याको तुलनामा आवश्यक बस प्रबन्धन नगर्दा र गुणस्तरीय सडक तथा परिपक्व चालक नराखीकनै निश्चित समयभित्र धेरैवटा रुटबाट विद्यार्थी ओसार्ने जिम्मेवारी चालकलाई दिँदा तीव्र दुर्घटना बढेको बताउनुभयो ।“यहाँका प्रायःजसो निजी विद्यालयसँग विद्यार्थी ओसारपसार गर्ने बस छन् । तर थोरै संङ्ख्यामा । सहर तथा ग्रामीण क्षेत्रबाट विद्यार्थी ल्याउने र पु¥याउने गर्नुपर्छ । विद्यालय समयभित्रमै विद्यार्थी ल्याउनुपर्छ । विद्यालय सकिएपछि छिटोभन्दा छिटो घर पु¥याउनुपर्छ”, उहाँले भन्नुभयो ।

ढल्केवरका रामकुमार महतोले धेरैवटा कक्षा सञ्चालन गर्ने र थुप्रै विद्यार्थी सँख्या रहेको विद्यालयमा कम सङ्ख्यामा बस भए पनि बिहान सिफ्टमा पढ्नेलाई १० बजे छाड्नुपर्ने र ११ बजेबाट सुरु हुने सिफ्टमा पढ्नेलाई ल्याउनुपर्ने कारणले दुर्घटना बढेको बताउनुभयो । त्यसका अतिरिक्त एउटा रुटबाट विद्यार्थी ल्याएर अर्को रुटमा पुग्नुपर्ने हुन्छ । यस्तोमा ओहरदोहर गर्न चालकलाई हतार हुने गरेको उहाँको भनाइ छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का केन्द्रीय सदस्य नरेन्द्र शर्माले चालक मात्रैको कारण दुर्घटना बढेको भन्नु गलग भएको बताउनुभयो । सवारी गुड्ने सडकमा मानिसको ओहरदोहर, सडक मिचेर पसल थाप्ने, सडकमै बिस्कुन सुकाउन र छाडा चौपायाका कारण दुर्घटना हुने गरेको उहाँको भनाइ छ । उहाँका अनुसार धनुषामा १६४ वटा संस्थागत विद्यालय प्याब्सनसँग आवद्ध छन् । सबैजसो विद्यालयसँग सवारी छ । सबै विद्यालयका गरी हाराहरी सवारी सङ्ख्या तीन सय छ ।

यातायात व्यवस्था कार्यालयले यात्रुवाहक बसका लागि रुट निर्धारण गर्दै आए पनि स्कुल बसका लागि रुट निर्धारण गर्ने निकाय छैन । विद्यालय सञ्चालन अनुमति दिने तथा नियमन गर्ने निकाय स्थानीय तहले विद्यार्थी सङ्ख्या र विद्यालयसँग उपलब्ध बस सङ्ख्याको तारतम्य हेर्ने गरेको छैन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख एवं प्रहरी निरीक्षक शेखर साहले विद्यालयको बस दुर्घटनाका घटना बढेपछि विद्यार्थी ओसार्ने बसको गतिमा विशेष रूपले निगरानी गर्न थालिएको बताउनुभयो ।

उहाँले रुट निर्धारण गर्ने क्षेत्राधिकार ट्राफिक प्रहरी कार्यालयको नरहेको बताउँदै प्याब्सन तथा एन प्याब्सन धनुषाका पदाधिकारीलाई बोलाएर ट्राफिक नियमको पूर्ण पालना गर्न र सवारीसाधनलाई दुरुस्त अवस्थामा राख्न आग्रह गरिएको जानकारी दिनुभयो । यसका साथै सवारी नियमअनुसार बस सञ्चालन गर्न, सीमित गतिमा सवारी चलाउन, सिट सङ्ख्याभन्दा बढी विद्यार्थी नराख्न र सवारी कागजात तथा सवारी चालक अनुमतिपत्र चालकलाई साथमा राख्न भनिएको उहाँको भनाइ छ ।

प्रहरी निरीक्षक साहले विद्यालयका बस सडकमा पार्किङ्ग गर्ना अन्य सवारी आवागमनमा समस्या उत्पन्न भइरहेको बताउँदै त्यस्ता सवारीसाधन विद्यालय परिसरभित्र अथवा स्थानीय तहसँग समन्वय गरी व्यवस्थापन मिलाउने बताउनुभयो । गोरखापत्रबाट