मिथिला माध्यमिकी परिक्रमाको तयारी सुरु, परिक्रमामार्गमा दुई दिन मास मदिरा निषेध

|

विजयकुमार साह

ढल्केबर । मिथिलाको महाकुम्भ मानिने मिथिला माध्यमिकी परिक्रमा तयारी थालिएको छ । प्रत्येक वर्ष फागुन शुल्कपक्ष प्रतिपदाका दिन धनुषाको मिथिला बिहारी नगरपालिका–८, कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट सुरु हुने १५ दिने मिथिला माध्यमिकी परिक्रमाको तयारी थालिएको हो ।

यस वर्ष फागुन २७ गतेबाट मिथिला माध्यमिकी परिक्रमा सुरु हुने मिथिला बिहारी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अजय झाले बताउनुभयो । उहाँले आउँदो आइतबार बिहान यहाँबाट झाँकी किर्तनसहितको डोला जनकपुरधामको हनुमानगढी पुग्ने सो ठाउँमा जानकीमन्दिर र राममिन्दर लगायत अन्य मठमन्दिरबाट आएका भगवानका डोला तथा भक्तजन एकत्रित भएर कल्यानेश्वरका लागि सोही दिन प्रस्थान गरिने जानकारी दिनुभयो ।

उहाँका अनुसार पहिलो दिन डोला कल्यानेश्वर पुग्ने छ । त्यसपछिका दिनमा मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनवन, क्षीरेश्वरनाथ (पर्वता), धनुषाधाम, सतोषर, औरही पुनः कल्याणेश्वर हुँदै फागु पुर्णिमाका दिन जनकपुरधाम फर्केर पञ्च कोशीय अन्तगृह परिक्रमा गरी समाप्त हुने छन् ।

नेपाल भारत दुवै मुलुकको धार्मिक साँस्कृतिक एवम् पारम्परिक सद्भावका प्रतीक माध्यमिक परिक्रमा नेपालमा ११ र भारतको बिहार राज्यमा चार स्थानमा विश्रामस्थल छन् । ति विश्रामस्थललाई अन्न क्षेत्र घोषणा गरेर साधुसन्त तथा भक्तजनलाई निशुल्क भोजन गराउने चलन छ ।
परिक्रमामा परम्परागत बाजागाजा, झाँक्री, किर्तनसहित मौलिक पहिरनमा लाखौं महिला तथा पुरुष सहभागी हुने गर्दछन् । हजारौं श्रद्धालु भक्तजनको सहभागीताले धनुषा र महोत्तरी जिल्लालाई धार्मिक पर्यटनको रुपमा चिनाउन सहयोग गरेको छ ।

माध्यमिकी परिक्रमालाई उल्लासमय बनाउन तथा व्यवस्थापनमा विशेष भूमिका निर्वाह गर्दै आएको वृहत्तर जनकपुर क्षेत्र विकास परिषदले यस यसवर्ष पनि विशेष तयारी थालेको छ । परिषद्का प्रमुख कार्यकारी निर्देशक शितल साहले अन्य वर्षको तुलना यसपटक परिक्रमालाई विशेष बनाउन र विश्रामस्थल व्यवस्थापनका बारेमा सरोकारबालासँग छलफल भइरहेको बताउनुभयो ।

उहाँले माध्यमिकी परिक्रमा एशियाकै सबैभन्दा लामो दुरीको धार्मिक पैदल यात्रा भएको बताउँदै यसलाई पर्यटन क्षेत्रसँग जोडर यसको विकास तथा प्रचारप्रसार हुनुपर्ने जानकारी दिनुभयो । परिक्रमामा प्रत्येक वर्ष भक्तजनको सङ्ख्या थपिँदै गएको छ । यस वर्ष करिब पाँच लाखको हाराहारीमा श्रद्धालु भक्तजन सहभागी हुने अनुमान गरिएको कार्यकारी निर्देशक साहले बताउनुभयो ।

माध्यमिक परिक्रमा डोला निस्कने मिथिला बिहारी मन्दिर पाँच सय वर्ष पुरानो रहेको अनुमान गरिएको छ । यस मन्दिरबाट डोलासहित परिक्रमाको प्रारम्भ गर्ने परम्परा निकै पुरानो छ ।

परिक्रमाको पडावस्थलहरुमा दुई दिन मास मदिरा विक्रीवितरण प्रतिबन्ध हुने

विश्वकै लामो धार्मिक पद यात्राको रुपमा रहेको मथिला मध्यमा परिक्रमाको पडावस्थलहरुमा र्दुइदिन मास मदिरा विक्रीवितरण प्रतिबन्ध हुने भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा आज बसेको सुरक्षा निकायसहितको बैठकले परिक्रमा अन्तर्गत धनुषाको पडाव स्थलहरुमा दुई दिन माछामासु, मदिरा विक्रीवितरण तथा पशुपंक्षी काटमार निषेध गर्ने निणर्य गरेको हो ।

बैठकले परिक्रमामा डिजे बाजामा धार्मिक गीत बाहेक बजाउन नपाउने लागयतको आठ बुँदे निणर्य गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।

‘परिक्रमा क्षेत्रमा परापूर्वकाल देखि चलि आएको परिक्रमा पर्वलाई व्यस्थित समाचार गर्न गराउनका लागि प्रत्येक पडावस्थलमा पवित्र डोला विश्राम हुने भएकाले पडावस्थलहरु र सोको १ किमी वरपरको क्षेत्रमा २४ घण्टा अगावै देखि ४८ घण्टाको लागि माछा मासु बेचबिखन पशुपक्षी काटमार र मदिरा विक्रि वितरण तथा सेवन गर्न निषेध गर्ने‘’ आज बसेको सुरक्षा निकायसहितको बैठकले गरेको निणर्यमा उल्लेख छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपानी पाण्डेले परिक्रममाको क्रममा चर्को आवाजमा धार्मिक बाहेकका गीतहरु डिजे बजाउन निषेध गर्ने लगायतको निणर्य भएको बताए ।

प्रजिअ पाण्डेका अनुसार परिक्रमा मार्गमा पर्ने स्थानीय पालिकाहरुलाई समन्वय गरी स्वास्थ्य, विद्युत, खानेपानी टेलिकम, सड़क, ट्राफिक लगायत व्यवस्थापन गर्ने, सहभागि डोलाहरु निर्धारित स्थान र समयबाट प्रस्वान भइसकेपछि परिक्रमा मार्गमा विगतदेखि चलि आएको परम्परा अनुसार व्यवस्था मिलाउन जनकपुर क्षेत्र विकास परिषद्ले समन्वय गर्ने, परिक्रमा अवधिभर सुरक्षा निकायबाट समन्वयात्मक रुपमा सुरक्षा योजना बनाई भरपर्दो सुरक्षा व्यवस्था मिलाउने लगायतको निणर्य गरिएको हो ।