विजयकुमार साह
ढल्केवर । मधेश प्रदेशका चोकहरुमा राष्ट्रिय झन्डा ठड्याउने चलन बढेको छ । राष्ट्रिय झन्डाप्रतिको सम्मान दर्साउन तथा चोकलाई सुन्दर बनाउन राष्ट्रिय झन्डा राख्ने गरिएको हो ।
धनुषाको ढल्केवर, महेन्द्रनगर, जनकपुर तथा महोत्तरीको बर्दिवास चोकमा ठुलठुलो राष्ट्रिय झन्डा राखिएको छ । त्यस्तै, महोत्तरीकै मटिहानीमा नेपालकै सबैभन्दा अग्लो झन्डा राखिएको छ । ११० फिट अग्लो रहेको सो झन्डाको उद्घाटन उपराष्ट्रपति रामसहाय प्रसाद यादवले गर्नुभएको थियो ।
यस्तै, धनुषाको ढल्केवर चोकमा स्थानीय क्लब तथा विभिन्न सङ्घसंस्था मिलेर २५ वटा राष्ट्रिय झन्डा राखेका छन् । मधेश प्रदेशको राजधानी जनकपुरधामको मुख्य प्रवेशद्वार तथा पूर्वपश्चिम राजमार्गसँग जोडिएको नेपालकै सबैभन्दा ठूलो महेन्द्र पार्कका तीन वटै कुनामा सो झन्डाहरु ठड्याइएका हुन् । झन्डा राखेपछि चोक सुन्दर देखिएको स्थानीयको भनाइ छ ।
मिथिला उद्योग वाणिज्य सङ्घका महासचिव दिपक लामाले राष्ट्रिय झन्डा नेपालको पहिचान, सम्मान र राष्ट्रियतासँग जोडिएकाले ढल्केवर चोकमा राखिएको बताउनुभयो । साउन महिना पहिलो पटक झन्डा राखिएको बताउँदै उहाँले त्यसयता दुई पटक नयाँ झन्डा फेरिएको जानकारी दिनुभयो ।
“धाम पानीको असरले झन्डाको रङ्ग खुइलिन थालेपछि नयाँ फेरिएको हो । झन्डा ठड्याउनु ठूलो कुरा होइन् । हेरचाह पनि गर्नुपर्छ”, महासचिव लामाले भन्नुभयो । उहाँले झन्डा च्यात्तियो अथवा धुलो मैलो भएको अवस्थामा तुरुन्त बदल्ने व्यवस्था मिलाइएको बताउनुभयो ।
जनकपुरका अभरेन्द्रकुमार यादवले देखासिकीमा जथाभावी राष्ट्रिय झन्डा राख्न नहुने बताउनुभयो । उहाँले चोकको सौन्दर्य बढाउन तथा सम्मानमा राष्ट्रिय झन्डा राखेपछि त्यसको उचित रेखदेख हुनुपर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभया, राष्ट्रिय झन्डा हामी नेपालीका लागि सम्मान तथा पहिचान हो । त्यसैले देखासिकी गरेर जथाभावी ठड्याउनु हुँदैन । यस्तै, देखासिकीमा कतिपय स्थानमा राखिएका झन्डा च्यात्तिको अवस्थामा समेत देखिएको यादवले बताउनुभयो ।
सरकारले राष्ट्रिय झण्डा प्रयोगसम्बन्धी कार्यविधि, २०६९ परिवर्तन गरी राष्ट्रिय झण्डालाई निजी घरमा पनि राख्न पाइने गरी निर्देशिका परिवर्तन गरेको छ ।

