धनुषाको संरक्षित वनमा लागेको डढेलो नियन्त्रणमा

|

ढल्केवर, धनुषा

धनुषाको धनुषाधामस्थित संरक्षित वनमा लागेको डढेलो ६ घण्टापछि नियन्त्रणमा लिइएको छ । वरुण यन्त्रको मद्दत तथा वन कर्मचारी, जनपद, सशस्त्र र नेपाली सेनाको सहयोगमा वनमा लागेको डढेलो नियन्त्रणमा लिइएको हो । बिहीबार बिहान ११ बजे लागेको डढेलो दिउँसो ५ बजे नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय धनुषाले जानकारी दिएको छ ।

डभिजन वन कार्यालय धनुषाका डिभिजनल प्रमुख बेचन चौधरीले धनुषाधाम गणेशमान चारनाथ, सबैला नगरपालिकाको गरी चारवटा वरुण यन्त्रको मद्दतमा तथा सुरक्षाकर्मी सहयोगमा वनमा लागेको डढेलो नियन्त्रणमा लिइएको बताउनुभयो । उहाँले वन क्षेत्रको पूर्वउत्तर भागको झाडी भएको भू–भागमा डढेलो लागेको जानकारी दिनुभयो ।

डिभिजलन प्रमुख चौधरीले डढेलोबाट पुगेको क्षति विवरण सङ्कलन गरिहेको बताउँदै डढेलो लाग्नुको कारणबारे अनुसन्धान गरिने बताउनुभयो । गर्मी सुरु भएसँगै जिल्लाका विभिन्न सामुदायिक वनमा डढेलो लाग्ने क्रम बढेको छ ।

यसैगरी, बुधबार धनुषाको मिथिला नगरपालिका–४, पुष्पवलपुरस्थित भाटीघारी सामुदायिक वनमा लागेको डढेलो लागेको थियो । वनमा लागेको डढेलो वरुण यन्त्रको मद्दत तथा वन कर्मचारी, जनपद, सशस्त्र र दङ्गा प्रहरीको सहयोगमा वनमा लागेको डढेलो नियन्त्रणमा लिइएको थियो ।