विजयकुमार साह
ढल्केबर, धनुषा ।धनुषालगायत मधेश प्रदेशका जिल्लामा झण्डै छ महिनापछि वर्षा भएको छ । अन्तिम पटक असोज दोस्रो साततिर वर्षा भएको थियो । त्यसयता पहिलो पटक बुधबार बिहान वर्षा भएको छ । वर्षापछि यहाँका किसान खुसी भएका छन् । लामो खडेरीका कारण बालीनाली सुक्दै गएका बेला भएको यो वर्षाले बालीनाली सप्रिने भन्दै किसान खुसी भएका हुन् ।
मिथिला नगरपालिकाका कृषि प्राविधिक उमेश महतोले लामो समयपछि भएको यो वर्षाले सबै प्रकारका बालीनालीलाई फाइदा पुग्छ भने केही प्रतिशत नोक्सानी पनि पु¥याउन सक्ने बताउनुभयो । उहाँले सबैभन्दा बढी तरकारी बालीलाई फाइदा पुग्ने बताउँदै आँप, कटहरलगायत तराईमा फल्ने मौसमी फलफूललाई पनि फाइदा पुग्ने जानकारी दिनुभयो । त्यस्तै, गहुँबालीलाई नोक्सानी पु¥याउन सक्ने उहाँको भनाइ ।
वर्षासँगै चलेको हावाले गहुँको बिरुवा खेतमै लडाउने अथवा घरभित्रियाउन काटेर राखेको गहुँका बिरुवा भिजेर नोक्सान हुनसक्ने कृषि प्राविधिक महतोले बताउनुभयो । उहाँले वर्षाले भूमिको तापक्रम घटेको जानकारी दिनुभयो ।
लगायतारको खडेरीले बालीनाली सुक्न लागेको बेला भएको यो वर्षाले केही रातह पुगेको स्थानीय किसानको भनाइ छ । सिँचाइ सुविधा नपुगेको क्षेत्रका किसानका लागि यो वर्षा बरदान साबित भएको मिथिला नगरपालिका–११, बाहुनमाराका किसान प्रेमबहादुर कार्कीले बताउनुभयो ।
एक तथ्याङ्कअनुसार मधेश प्रदेशमा कुल पाँच लाख ८५ हजार ८ हेक्टर खेतियोग्य जमिन छ । जसमध्ये चार लाख १४ हजार ७५६ हेक्टर जमिनमा सिँचाई सुविधा पुगेको दाबी गरिएको छ । सिँचाइ गुरु योजनाअनुसार प्रदेशको कुल सतह सिँचाइ आयोजना र डिप ट्युवबेल तथा स्यालो ट्युवबेलबाट सिँचाइ प्रबन्ध मिलाइएको तथ्याङ्कमा उल्लेख छ । बाँकी क्षेत्रका किसान आकाशे खेतीमै निर्भर छन् ।
सिञ्चित क्षेत्रमा पनि कहिले पानी अभाव हुन्छ । यसले गर्दा सिञ्चित क्षेत्रका किसान पनि आकाशे पानीकै भरमा पर्नु पर्ने अवस्था छ । बुधबारको वर्षाले बाली सपार्न मद्दत पुग्ने कृषि विज्ञहरुको भनाइ छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर मौमस बदलिएको छ । यो अवस्था बिहीबारसम्म रहने छ । नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावले कोशी र मधेश प्रदेशमा वर्षा भएको छ । गोरखापत्र अनलाइनबाट

