ढल्केवर, धनुषा । जनकपुरधाममा आइतबारबाट महामुर्ख सम्मेलन सुरु भएको छ । मिथिला नाट्य कला परिषद (मिनाप) ले आयोजना गरेको महामुर्ख सम्मेलनको पहिलो दिन होली गायन तथा डम्फा प्रतियोगिता सम्पन्न भएको छ भने सोमबार (भोली) महामुर्खको उपाधि प्रदान गर्ने कार्यक्रम तय गरिएको छ ।
मिथिला क्षेत्रबाट लोप हुँदै गएको फागु गीत परम्परालाई निरन्तरता दिन परिषदले २०६१ सालदेखि होली गायत प्रतियोगिता तथा महामुर्ख सम्मेलनको आयोजना गर्दैआएको छ । महामुर्ख सम्मेलनमा सहभागी विशिष्ट पाहुनामध्ये एक जनालाई महामुर्ख र अन्यलाई पटमूर्ख, हराशङ्ख, डपोर शङ्खलगायत व्यंग्यात्मक ‘मानपदवी’ दिने चलन छ । उपाधिसँगै भन्टा, मुलालगायत विभिन्न तरकारीले उनिएको माला लगाइदिएर सम्मान गरिन्छ ।

यो उपाधि पाउन यसवर्ष धेरै जना आकाङ्क्षी रहेको मिथिला नाट्य कला परिषदका अध्यक्ष प्रमेश्वर झाले जानकारी दिनुभयो । उहाँले नाम टुङ्गो नलागेको बताउँदै छनोट समितिले महामुर्खलगायत अन्य मानपदवी पाउने व्यक्तित्वहरुको नाम टुङ्गो लगाउने बताउनुभयो । मिनापले भाषा, संस्कृति, कला समाजिक रुपान्तरण, राजनीतिक क्षेत्रमा उल्लखनीय काम गर्नेलाई महामुर्खको उपाधि प्रदान गर्दैआएको छ ।
व्यङ्ग्यात्मक शैलीमा प्रदान गरिने यो महामुर्खको उपाधि कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी), मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, राजनीतिक विश्लेषक सीके लाल, साहित्यकार रामभरोष कापडी, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द झा, जनकपुर महानगरका पूर्व नगर प्रमुख लालकिशोर साहले पाइसक्नु भएको छ ।
सम्मेलनमा परिषद्का कलाकारहरूले हास्यव्यङ्ग नाटक प्रस्तुत गर्नेछन् भने स्थानीय कविहरुले हास्य कविगोष्ठी तथा फागु गीतको प्रदर्शन गरिने आयोजकले जानकारी दिएको छ ।


