मधेश प्रदेशमा होली लक्षित सुरक्षा व्यवस्थामा कडाइ, चार हजार प्रहरी परिचालन

|

ढल्केवर, धनुषा । होली पर्वलाई दृष्टिगत गर्दै मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले प्रदेश भर सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।

होली पर्वमा हुनसक्ने आपराधिक घटनालाई नियन्त्रणमा लिनका लागि होली पर्वसम्मका लागि सुरक्षा व्यवस्थामा कडाई गरिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता तथा सूचना अधिकारी श्यामकुमार महतोले बताए ।

उनका अनुसार मधेश प्रदेशका सबै जिल्लामा गरी चार हजार ४२ जना प्रहरी परिचालन गरिएको छ । पैदल गस्ती, मोबाइल गस्ती परिचालन गरिनुका साथै राजमार्ग र भित्री सडकखण्डमा चेक प्वाइन्टहरु खडा गरिएको छ ।

शान्ति सुरक्षा खलबलिन नदिनका लागि होली पर्वको अवधीमा मदिरा सेवन गरेर सवारी चालाउने, क्षमताभन्दा बढी सवार गराएर चलाउने सवारी चालकलाई तत्कालै कारवाही गरिने प्रवक्ता महतोले भने । जथाभावी रङ्ग लगाउने, लोला हान्ने, मादक पदार्थ सेवन गरी हो–हल्ला गर्ने, अश्लिल गीत बजाएर नाँच्ने, बाटो हिँड्ने महिलालाई अभद्र व्यवहार गर्ने जस्ता क्रियाकलाप नगर्न आग्रह गर्दै मर्यादित भएर होली पर्व मनाउन सबैमा उनले आग्रह गरे ।