ढल्केबर, धनुषा । तराईको जिल्लामा सोमबार रङ्गहरुको पर्व होली हर्षोल्लासका साथ मनाइ रहँदा धनुषाको मिथिला नगरपालिका–९, सुन्दरपुरस्थित सुकुम्बासी बस्तीका भोलीलाल सहनीको घरमा त्यस्तो कुनै उत्साह देखिएन । नियमित दिनचर्याकै अवस्थामा उहाँ घरमा भेटिनुभयो ।
फगुवाको दिन तराईका अधिकांश घरमा मालपुवा, पुरीलगायत मीठो पकवान पकाइए पनि सहनीको घरमा अन्य दिनजस्तै आलुको तरकारी र भात पाकेको थियो । अन्य दिनजस्तै आलुको तरकारी र भात पकाएको सहनीले भाँडाकुँडा देखाउँदै भन्नुभयो, ‘हामी गरिब मान्छे कहाँबाट पैसा ल्याउनु पकवान पकाउनलाई सामान ।’
होलीको दिन तराईको घरघरमा पकाउने मीठो पकवानमध्ये मालपुवा एक प्रमुख पकवान हो । यस दिन प्रायःजसो घरमा मालपुवा, पुरीलगायत मिठा पकवान पकाउने साथीभाइ, इष्टिमित्रलाई घरमा बोलाएर खुवाउने र सँगै रङ्गअबिर लगाएर होली खेल्ने चलन छ ।
तर, सुन्दरपुर सुकुम्बासी बस्तीका भोगीलालको घरमा मात्रै मीठो परिकार पाकेन बस्तीमा रहेका करिब ६५ घरमध्ये अधिकांशको घरमा होलीको रौनक देखिएन । उहाँहरुसँग मीठो खानेकुरा किन्ने उपाय छैन । गरिबीकै कारण बस्तीमा होलीको उत्साह नदेखिएन । भोगीलालले भन्नुभयो, बस्तीमा मुस्किलले १० घरमा मालपुवालगायत मीठो परिकार पकाएका होलान अन्य सबैको अवस्था उस्तै छ । उत्साह र उमङ्गको होली हाम्रो लागि खल्लो भएको छ । आफूसँग भएको पचास रुपियाँको अबिर किनेर छोराबुहारी, नातिनातिना लगाइदिएर आर्शिवाद दिएको उहाँको भनाइ छ ।
बस्तीमा अधिकांश विपन्न परिवारको बसोबास छ । यहाँ अधिकांश मानिस दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दैआएका छन् । उहाँहरुले पाउने न्यून ज्यालाले हातमुख जोर्ने धौ–धौ पर्छ । त्यसैले चाडपर्वमा अतिरिक्त खर्च गर्ने पैसा हुँदैन, सोही ठाउँकी शिलादेवी दासले भन्नुभयो ।
उहाँका अनुसार करिब २५ वर्षअघि नदी उकास जग्गामा विभिन्न ठाउँबाट आएका भूमिहिनहरु घर बनाएर बसेका छन् । बस्तीमा खानेपानी, बिजुलीको सुविधा पुगेपनि सबैको आर्थिक अवस्था कमजोर छ ।
स्थानीय भुवन थापाले आपसी सद्भाव, उत्साह र खुसियालीको यस होली पर्वमा विपन्न परिवारलाई आर्थिक सहयोग गरेर खुसियाली साटासाट गर्नुपर्ने बताउनुभयो । मानिसले अनावश्यक खर्च घटाएर भए पनि विपन्न परियारमा सहयोग गर्न सके उहाँहरुको लालाबालाको अनुहारमा सुसी छाउँथ्यो, उहाँले भन्नुभयो ।

