सहकारीलाई उत्पादनसँग जोड्नुपर्छ : उपप्रमुख बुढाथोकी

|

ढल्केबर, धनुषा । “सहकारीमा सुशासन, प्रविधि र एकीकरण” भन्ने नाराका साथ ६७ औं राष्ट्रिय सहकारी दिवस धनुषाको ढल्केवरमा मनाइएको छ । मिथिला नगरपालिकाको सहकारी शाखाको आयोजनामा प्रभातफेरिसहित ढल्केवरस्थित राधाकृष्ण मन्दिरको सभाकक्ष एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय सहकारी दिवस मनाइएको हो ।

कार्यक्रममा मिथिला नगरपालिकाकी उपप्रमुख सुनितासिंह बुढाथोकीले सहकारीले आर्थिक कारोबारसँगै उत्पादनमूलक क्षेत्रलाई प्रोत्साहन गर्नेगरी काम गर्नुपर्नेमा बताउनुभयो । उहाँले चामल, दाल, तरकारी, दुध, दहीलगायत खाद्यन्यका लागि विभिन्न मुलुकबाट आयात गर्नुपर्ने अवस्थाको अन्त्य गर्न सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।उहाँले भन्नुभयो, “सहकारीलाई उत्पादनसँग जोड्नपर्छ, सीपमूलक तालिम तथा सदस्यको आयआर्जन वृद्धि गर्न उत्पादनमुलक क्षेत्रमा लगानी लगाउनुपर्छ ।”


उप्रप्रमुख बुढाथोकीले सहकारीले राम्रो कामहरु गरेपनि कतिपय सहकारीले नराम्रो काम गरेकाले त्यसको असर सिङ्गो सहकारी क्षेत्रमा परेको बताउँदै सहकारीले स्वनियमन गरी सुशासनमा रहि काम गर्नुपर्ने जानकारी दिनुभयो ।

नगरपालिकाका प्रमुुख प्रशासकीय अधिकृत अशोककुमार भण्डारीले गरिबी निवारणको क्षेत्रमा काम गरेर राज्यलाई सहयोग गरिरहेका सहकारीलाई सदस्यमैत्री बनाउनुपर्ने बताउनुभयो । उहाँले केही सहकारीका कारण सिङ्गो सहकारीको छवि धूमिल हुँदै गएकाले पदाधिकारी स्वयम्ले सहकारीको प्रतिष्ठा जोगाउनुपर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा कृषि प्राविधिक उमेश महतोले स्थानीय तह गठन पश्चात मिथिला नगरपालिकाले पहिलो पटक राष्ट्रिय सहकारी दिवस मनाउन कार्यक्रम आयोजना गरेको बताउनुभयो । यस कार्यक्रमले नगरभित्र रहेको सहकारीका पदाधिकारीलाई एक ठाउँ भेला हुने अवसर प्रदान गरेको बताउँदै सहकारीको विकासका लागि नगरपालिका सहकारी सञ्जाल गठन गरिएको जानकारी दिनुभयो ।

वडाध्यक्ष रामबहादुर स्याङ्गदन, रामचन्द्र महतो, बिहारी महतो, चन्द्रबहादुर बुलनलगायतका वक्ताहरुले सहकारीमा आएका विभिन्न चुनौतीहरुलाई समाधान गर्दै थप व्यवस्थित र प्रभावकारी बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रम गर्नुअघि कार्यक्रम सहभागीहरुले प्रभात फेरि कार्यक्रम गरेको थियो । प्रभात फेरिका सहभागि मिथिला नगरपालिकाको कार्यालयबाट सुरु गरिएको प्रभात फेरिका सहभागीहरुले ब्यानर तथा विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेर ढल्केवर चोकको परिक्रमा गर्दै राधाकृष्ण मन्दिर पुगेर कार्यक्रम सहभागी भएका थिए ।