ढल्केबरमा दुई सय एघार जनाले गरे रक्तदान

|

ढल्केवर, धनुषा ।
धनुषाको ढल्केवरमा शनिबार आयोजना गरिएको वृहत रक्तदान कार्यक्रममा दुई सय ११ जनाले रगत प्रदान गरेका छन् । धनुषामा एकै ठाउँम ठूलो सङ्ख्यामा रगत प्रदान गरिएको यो दोस्रो अवसर हो ।

नेपाल रेडक्रस सोसाइटी धनुषाका अनुसार १० वर्ष अघि जनकपुरको रामानन्द युवा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रम तीन सयभन्दा बढीले रगत प्रदान गरेका थिए ।

ढल्केवरमा मिथिला उद्योग बाणिज्य सङ्घ, मिथिला ब्याडमिन्ट क्लब, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलगायत स्थानीय क्लब तथा सङ्घसंस्थाले रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । रक्तदान कार्यक्रम शुभारम्भ मधेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सत्रुधनप्रसाद सिंह रगत प्रदान गरे ।

रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै स्वास्थ्यमन्त्री सिंहले एक सयभन्दा बढी पटक आफूले रक्तदान गरेको बताए । २०६० सालमा पहिलो पटक रक्तदान गरेको बताउँदै उहाँले त्यसपछि प्रत्येक तीन–तीन महिना र आकस्मिक सयम रक्तदान गर्दैआएको जानकारी दिए ।

स्वास्थ्यमन्त्री सिंहले प्रदेशका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने आफ्नो योजना रहेको सुनाए । उहाँले चैत १० गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको रुपमा पदभार ग्रहण गरे लगतै बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने निर्णयसमेत गरिएको बताए ।