ढल्केवरमा मिटर ब्याज पीडितद्वारा प्रहरी कार्यालय अगाडि प्रदर्शन

|

ढल्केबवर, धनुषा 

धनुषाको ढल्केवरस्थित इलाका प्रहरी कार्यालय अगाडि मिटर ब्याज पीडितहरुले प्रदर्शन गरेका छन् । प्रहरी प्रशासनले न्याय दिलाउन सहयोग नगरेको भन्दै सयौंको संख्यामा रहेका मिटर ब्याज पीडितले आइतबार प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी मिटर ब्याज पीडित सङ्घर्ष समिति धनुषाका संयोजक श्याम राउतले महाजनले एक हजार रुपियाँ ऋण दिएर मिथिला नगरपालिका–१, आनन्दपुरका जगदेव महतोको नम्बरी १७ कठ्ठा र जोतभोग गर्दैआएको ऐलानी जग्गा गरी दुई बिघा पाँच कठ्ठा जग्गा जालसाजी पूर्वक हड्पेको विषयमा प्रहरी प्रशासनले न्याय दिलाउन सहयोग नगरेकाले प्रहरी कार्यालयमा आएर प्रदर्शन गरिएको बताए ।

उहाँले मिथिला नगरपालिका–२, नकटाझिजका महाजन कमाली कुर्मीले महतो दुई बिघाभन्दा बढी जग्गा जालजासी पूर्वक हड्पेको आरोप लगाए ।

पीडित परिवार न्यायका लागि विगत पाँच वर्षदेखि जिल्ला प्रशासन कार्यालयलगायतका सम्बन्धित निकायमा दौडधुप गर्दैआएको भएपनि प्रहरी प्रशासनले पीडितलाई न्याय दिलाउनुका साटो जालसाजी गर्नेकै पक्षमा लागेको आरोपसमेत लगाए ।

प्रहरीका अनुसार तत्काललाई खेतमा लगाइएको गहुँबाली कटान गरी सम्बन्धित वडा कार्यालयको रोहबारमा राखिने र छलफलबाट समस्या टुङ्गो लगाउने विषयमा दुवै पक्षलाई सहमत भएको जानकारी दिए ।