बटेश्वरमा मगही सलहेश मेलाको तयारी

|

ढल्केबर, धनुषा । सिरहाको लहान नगरपालिकास्थित सलहेश फूलबारीमा प्रत्येक वर्ष बैशाख १ गते फुल्ने सुनाखरी फूल धनुषाको बटेश्वरमा पनि फुल्दै आएको छ । लहानदेखि पाँच किलोमिटर पूर्वमा पर्ने सलहेश फूलबारीमा एक दिन मात्र फुल्ने यो फुल बटेश्वरमा विगत चार वर्षदेखि बैशाख १ गतेकै दिन फुल्दैआएको छ ।

बटेश्वर गाउँपालिका–१, सोनापुर टोलस्थित बिजुली पासवानको घर पछाडि रहेको आँपको रुखमा सुनाखरी फूल फुल्दैआएको स्थानीय फुलगेन महतो मगहीले बताए । उनका अनुसार सलहेश फूलबारीमा हारमको रुखमा यो फूल फुल्छ भने यहाँ आँपको रुखमा फूल्ने गरेको छ ।

दलित समुदाय अन्तर्गत दुसाध जातिको कुलदेवता राजा सहलेश र उहाँकी प्रेमिका मालिनीको प्रेम प्रतीकको रुपमा यो फूललाई लिइँदै आएको छ । यहाँ पनि दुसाध जातिकै घर पछाडिको रुखमा बैशाख १ मै सुनाखरी फूल फुल्न थालेपछि कुलदेवता प्रकट भएको भन्दै पुजाआजा गर्ने तथा फूल हेर्न आउनेको घुइँचो लाग्ने गरेको छ । साथैे त्यस दिन भव्य मेलासमेत लाग्ने गरेको छ ।

स्थानीयका अनुसार गत वर्षजस्तै आउँदो बैशाख १ गतेका दिन मगही सलहेश मेला लगाउने तयारी भएको छ । आनन्दलाल महतोको अध्यक्षतमा मेला व्यवस्थापन समितिसमेत गठन गरेर मेलाको तयारी भइरहेको छ ।