
ढल्केवर, धनुषा । तराइ क्षेत्रमा आज (आइतबार) प्रकृतिमैत्री जुडशीतल पर्व मनाइँदै छ । परिवारका ज्येष्ठ सदस्यबाट जीवनमा सकारात्मक ऊर्जा र शीतलताको आशीर्वाद लिएर जुडशितल पर्व मनाइरहेको हो ।
नयाँ वर्षको पहिलो दिन हिजो ‘सतुवाइन’ र आज दोस्रो दिन ‘जुडशितल’मनाइन लागिएको छ । यो पर्वमा श्रेष्ठजनले शीतलजल परिवारका सदस्यको शिरमा सेचन गर्दै सकारात्मक ऊर्जा वृद्धि र शीतलताको आशिर्वाद दिने प्रचलन छ ।
नयाँ वर्षको शुभारम्भका रुपमा मनाउने गरिएको यस पर्वको मुख्य विशेषतामा आ–आफ्ना अग्रजबाट आशीर्वाद प्राप्त गर्नुका साथै चुलोको पूजा र वातावरणलाई दृष्टिगत गरी रुखको जरामा पानी हालेर सिँचाइ गर्ने चलन छ । यस दिन बिहानैदेखि अग्रजले आ–आफ्ना परिवारका सदस्यलाई अञ्जुलीमा जल लिएर टाउकोमा राखी वर्षभरि ‘मगज ठण्डा रहोस’ भनेर आशिष दिनुहुन्छ ।
कसैसँग झगडा नगर्नु र शान्तिका साथ सोचेर कार्य गर्नु नै सो आशिषको मुख्य उद्देश्य रहेको अनुभवी जेष्ठ नागरिकहरू बताउनुहुन्छ । यस पर्वको अर्को मुख्य विशेषता चुलोको पूजा गर्नु पनि हो । परम्पराअनुसार चुलोको लिपपोत गरेर पूजा गरिन्छ । त्यसपछि घरका चुलोमा राति खाना पकाइँदैन । दिनमै पकाइएका भोजन नै रातिमा खाने परम्परा रहेको छ । वर्षमा एक दिन चुलोको पुजा पनि गरिन्छ ।
सो अवसरमा घरका देउताका साथै चुलो र चौंखटको पूजा गरी बासीभात, दही, चिनी प्रसादका रुपमा चढाउने गरिन्छ । प्रसादका रुपमा चढाइएका खानाको परिकार नयाँ माटाको भाँडोमा एक दिनअगावै पवित्रताका साथ पकाएर राखिएको हुन्छ । यसका साथै बिहानैदेखि आ–आफ्ना आँगनबारीमा रहेका विभिन्न रुखको जरामा पानी हाल्नु, बाटाघाटोमा पानी छर्कनुु, इनार, सडक र नाला सफा गर्ने कार्य गरिन्छ ।
गर्मी महिनामा रुखमा पानीको अभाव हुन नदिन र वैशाख महिनामा हावा चल्ने गरेकाले सडकमा धुलो उड्न नदिनेका लागि पानी छर्कने गरिन्छ । यस कार्यको माध्यमबाट वातावरणलाई स्वच्छता प्रदान गर्नका लागि समाजमा सचेतना जगाउनुनै पर्वको मुख्य उद्देश्य रहेको देखिन्छ ।
यसका साथै एक अर्कामाथि हिलो छ्याप्दै पर्व मनाउने गरिन्छ । टोलका मानिस भेला भएर इनार, कुलो र नालाको सरसफाइ गर्ने बेलामा खुसीयाली मनाउँदै हिलोसँग खेल्ने गर्छन् । यस पर्वमा आँपको चिचिलाको चोखा, सोइजनको तरकारी, दही र चिनी अनिवार्य रुपमा खाने गरिन्छ ।