जलाइध साझेदारी वन व्यवस्थापन समितिको अध्यक्षमा लालबाबु निर्वाचित

|

ढल्केवर, धनुषा ।
धनुषास्थित जलाइध साझेदारी वन व्यवस्थापन समितिको अध्यक्ष पदमा लालबाबु यादव निर्वाचित भएका छन् । जलाइध साझेदारी वन व्यवस्थापन समितिको तेस्रो अधिवेशनबाट उनी निर्वाचित भएका हुन् ।

शनिबार धनुषाको हारसरस्थित जीवन तालिम केन्द्रमा अध्यक्ष पदका लागि भएको निर्वाचन प्रक्रियाबाट यादव ६१ मतान्तरले निर्वाचित भएको मतदान अधिकृत अशोककुमार मिश्रले जानकारी दिए । २४५ मतमध्ये जम्मा १७६ मत खसेको थियो । जसमध्ये नवनिर्वाचित यादवले एक सय मत प्राप्त गरे । उनको निकटतम् प्रतिद्वन्दी श्यामलाल महतोले ६१ मत प्राप्त गरे । १५ वटा मत बदर भएको निर्वाचन अधिकृत मिश्रले जानकारी दिए ।

जलाइध साझेदारी वन व्यवस्थापन समितिको पदाधिकारी चयनमा सहमति हुन नसकेपछि केही पदाधिकारी चयनका लागि निर्वाचन भएको थियो । यस्तै, उपाध्यक्ष पदमा रामनारायण यादव निर्वाचित भएका छन् । उनले चार मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।

यसैगरी, समितिको सदस्यहरु निर्विरोध चयन भएका छन् । निर्विरोध चयन भएका सदस्यहरुमा सुर्यदेव यादव, रामकुमार महतो, ठकाइ यादव, विजय साह, सुजितकुमार मिश्र, राजेश्वर झा, कमलदेव महतो, उर्मिलाकुमारी, बलादेवी ठाकुर, गीतादेवी चौधरी रहेका छन् ।
वन संरक्षणमा चुरेको सिरानदेखि दक्षिणमा भारतको सीमा क्षेत्रका उपभोक्ता समावेश गराउने उद्देश्यले गठन भएको जलाइध साझेदारी वन व्यवस्थापन समितिभित्र धनुषाको नौ वटा पालिकाको ३५ वटा वडा पर्दछ । प्रत्येक वडामा सात सदस्य वडा समिति गठन गरिएको छ ।