हक्की खेलाडीको लापरबाहीले रामभरोस महतोको आँखाको ज्योति गुम्यो

|

विजयकुमार साह
ढल्केबर, धनुषा । महिला हक्की खेलाडीको लापरबाहीले आँखाको ज्योति गुमेपछि धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरका ४९ वर्षिय रामभरोस महतोको अहिले बिच्चली भएको छ । घरको रङ्गपेन्ट गरेर जीविकोपार्जन गर्दै आउनुभएका उहाँ आँखाको ज्योति गुमेका कारण काम गर्न नसक्ने भएपछि बिच्चलीमा पर्नुभएको हो ।

मदन भण्डारी स्पोर्टस एकडेमीकी महिला हक्की खेलाडी जागृति यादवले लापरबाही पूर्वक प्रहार गरेको बल लागेर आफ्नो आँखाको ज्योति गुमेको महतोको आरोप छ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरमा मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा २०८० फागुन १४ देखि २० गतेसम्म प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगितामा आयोजना भएको थियो । प्रतियोगितामा भाग लिन आउनु भएका आयोजक टिमका महिला खेलाडीहरु ढल्केवरस्थित श्रीराम गेष्ट हाउसमा बास बस्नुभएको थियो । सोही गेष्ट हाउस अगाडिको सडक भागमा अभ्यास गर्ने क्रममा हक्की खेलाडी जागृतिले प्रहार गरेको बलले चोट लागेर देब्रे भागको आँखाको ज्योति गुमेकोे उहाँले बताउनुभयो ।

सडकको बाटो भएर दुग्ध पु¥याउन गइरहेको बेला अचानक हक्की बलले आँखामा चोट लागेको बताउँदै उहाँले भन्नुभयो, “चोटका कारण एकछिन अचेतजस्तै भए । होस खुलेपछि बल प्रहार गर्ने महिला हक्की खेलाडी जागृतीलाई आफ्नो आँखाको उपचार गराइदिन भने । उहाँले स्थानीय आँखा उपचार केन्दमा लगेर उपचार गराउँदा आँखामा गम्भीर चोट लागेकाले अन्त लैजान उपचारमा संलग्न चिकित्सकले सुझाव दिनुभयो ।”

आँखामा गम्भीर चोट देखिएकाले उहाँले घटनासम्बन्धमा इलाका प्रहरी कार्यालय ढल्केवरमा उजुरी दर्ता गराउनुभयो । त्यसपश्चात मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष ध्रुव आचार्यको रोहवरमा सचिवालय सदस्य नन्दु वाइवाले खेलाडी र घटनाको जिम्मेवारी लिँदै आँखाको उपचार गराइदिने सहमति गरेको महतोको भनाइ छ ।

त्यसपछि उहाँ लहानको चौधरी आँखा अस्पताल, जनकपुरको जानकी आँखा अस्पताल र काठमाडौंको तिलगङ्गा आँखा अस्पतालमा समेत जाँच गराउनुभयो । सबै ठाउँका डाक्टरले आँखाको ज्योती ठीक हुन नसक्ने जवाफ दिएको छ । नेपालका ठूल्ठूला आँखा अस्पताल उपचार गराउँदा पनि आँखा ठीक नहुने भएपछि जीविकोपार्जनका लागि महतोले क्षतिपूर्तिको माग राख्नुभएको छ । क्षतिपूर्तिको मागप्रति मदन भण्डारी स्पोर्टस एकेडेमीका पदाधिकारी बेवास्ता गर्दै आएको उहाँको गुनासो छ ।

मदन भण्डारी एकेडेमीका अध्यक्ष आचार्यले क्षतिपूर्तिको सम्बन्धमा एकेडेमीको कार्यसमितिको बैठकले निर्णय गरेपछि मात्र उपलब्ध गराउन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “महतोको आँखा उपचारमा लाग्ने खर्च उपलब्ध गराउँछु भनेका थियौं तर अब ठीक नहुने भएपछि उहाँले क्षतिपूर्तिले माग राख्नुभएको छ । उहाँको मागको विषयमा कार्यसमितिको बैठकमा प्रस्ताव लैजान्छु । समितिले जे निर्णय गर्छ त्यसअनुसार सहयोग गर्छौँ ।”

यता, इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक राजकिशोर साहले एक सातापछि आएर पीडितसँग कुराकानी गर्ने एकेडेमीका पदाधिकारीले जानकारी गराएको बताउनुभयो । समयभित्र आएन भने मुद्दा प्रक्रिया अगाडि बढाउने उहाँले बताउनुभयो ।

हक्की बल लागेर आँखाले अपाङ्गता बनेका महतोको दुई सन्तान र श्रीमती हुनुहुन्छ । उहा विगत २० वर्षदेखि नयाँ तथा पुराना घरमा रङ्ग लगाउने काम गरेर परिवारको पालनपोषण गर्दै आउनुभएको थियो । आँखाले अपाङ्गता भएपछि अहिले घर खर्च चलाउन समस्या भएको उहाँले बताउनुभयो । गोरखापत्रबाट