‘वन संरक्षण गर्ने दायित्व सबैको हो’

|

ढल्केवर, धनुषा

वन तथा वातावरण मन्त्रालय मधेश प्रदेशका सचिव उद्धव घिमिरेले वनको संरक्षण गर्ने दायित्व सबैले लिन जरुरी भएको बताएका छन् । बुधबार धनुषाको पुष्पवलपुरमा डिभिजन वन कार्यालय धनुषाको आयोजनामा जलाइध साझेदारी वन व्यवस्थापन समितिका नव निर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण कार्यक्रममा उनले वनस्पतिको भण्डार मानिएको जलथललाई संरक्षण गर्नका लागि सबैले पहलकदमी गर्न आवश्यक रहेको जानकारी दिए ।

वन क्षेत्र मासिँदै गएकाले अहिले तापमानमा वृद्धि तथा पानीका स्रोत सुक्दै गएको बताउँदै उनले वनको संरक्षण गर्ने दायित्व एउटा निश्चित संयन्त्रले मात्र गरेर नहुने बताए । उनले भने, “वन वातावरणको लागि पनि महत्त्वपूर्ण कडी हो । वन जोगाउनु सबैको दायित्व हो । अझ यसमा सबैभन्दा बढी भूमिका स्थानीयवासी र स्थानीय तहहरुले भूमिका खेल्न सक्नुपर्छ । वनले जीविकोपार्जनमा त भूमिका खेल्छ नै त्योसँगै जीवनदान पनि दिन भूमिका खेल्छ ।”

उनले साझेदारी वन व्यवस्थापन समितिका नवनिर्वाचित पदाधिकारीले जलाइध वन क्षेत्रको संरक्षण, सम्वद्र्धन उपभोगमा चुरेको सिरानदेखि दश गजा क्षेत्रका बासीलाई समेटर अगाडि बढ्न आग्रह गर्नुभयो ।

वन निर्देशनालय मधेश प्रदेशका वन अधिकृत सुरेश शर्माले वन संरक्षणमा तल्लो तटिय क्षेत्रका बासिन्दलाई पनि समेटनुपर्ने औचित्य ठानेर जलाइध साझेदारी वन व्यवस्थापन समिति गठन भएको बताए । वन व्यवस्थापन समिति गठन गर्न आफ्नो पनि भूमिका रहेको बताउँदै उनले नवनिर्वाचित पदाधिकारीलाई शुभकमना तथा बधाई दिनुभयो ।

जलाइध साझेदारी वन व्यवस्थापन समितिको वैशाख ३ गते सम्पन्न तेस्रो अधिवेशनको बन्दसत्रबाट पदाधिकारी चयनमा सहमति जुटन नसकेपछि वैशाख १५ गते केही पदका लागि मदतान भएको थियो । अध्यक्ष र उपाध्यक्ष पदका लागि मतदान भएको थियो अन्य पदाधिकारी निर्विरोध चयन भएका थिए ।

मतदान प्रक्रियाबाट अध्यक्ष पदमा लालबाबु यादव र उपाध्यक्षमा रामनारायण यादव निर्वाचित भएका थिए । सदस्यहरुमा सुर्यदेव यादव, रामकुमार महतो, ठकाइ यादव, विजय साह, सुजितकुमार मिश्र, राजेश्वर झा, कमलदेव महतो, उर्मिलाकुमारी, बलादेवी ठाकुर, गीतादेवी चौधरी रहेका छन् । उनीहरु निर्विरोध चयन भएका छन् । उनीहरुलाई कार्यक्रममा उपस्थित वन तथा वातावरण मन्त्रालयका सचिव घिमिरे, वन निर्देशनालय मधेश प्रदेशका निर्देशक जगन्नाथ जैसवाल, वन अधिकृत शर्मा, डिभिजन वन कार्यालय धनुषाका डिभिजनल प्रमुख बेचन चौधरीलगायत अतिथिले प्रमाणपत्र वितरण गरेका थिए ।