खानेपानीको आवश्यकता पूर्ति गर्न जीर्ण डिप ट्युबवेल मर्मत गरी सञ्चालन

|

विजयकुमार साह
ढल्केवर, धनुषा । धनुषाको उत्तरी क्षेत्रमा चापाकल र इनार सुकेर खानेपानीको समस्या भएपछि जीर्ण अवस्थामा रहेको डिप ट्युबवेल मर्मत सम्भार गरी सञ्चालनमा ल्याइएको छ । पानीका लागि भरपर्दो विकल्प भएकाले बिग्रेको अवस्थामा रहेको डिप ट्युबवेलहरु मर्मत गरी सञ्चालनमा ल्याइएको हो ।

क्षीरेश्वरनाथ नगरपालिका–८, दिगम्बरपुरमा २० वर्षदेखि बिग्रिएर बन्द अवस्थामा रहेको डिप ट्युबवेल मर्मत गरी सञ्चालनमा ल्याइएको छ । गाउँमा रहेको चापाकल र इनार सुकेर पानीको अभाव भएपछि सो डिप ट्युबवेल सञ्चालनमा ल्याइएको वडाध्यक्ष मोदकुमार महतोले बताउनुभयो । डिप ट्युबवेल सञ्चालनमा आएपछि विगत एक महिनादेखि खानेपानीको समस्या झेलिरहेका स्थानीयलाई राहत पुगेको उहाँले जानकारी दिनुभयो ।

यस्तै, सोही नगरपालिका–७, दुर्गा टोलमा सात वर्षदेखि बिग्रिएको अवस्थामा रहेको डिप ट्युबवेल मर्मत गरी सञ्चालन गरिएको छ । क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख सुखदेव यादवले जमिन मुनि पानीको सतह तल हुँदा यहाँका इनार र चापाकलमा पानी आउन छोडेपछि दिनरात कामदार खटाएर सो डिप ट्युबवेल सञ्चाल गरिएको बताउनुभयो ।

यसैगरी, मिथिला नगरपालिका–३, हरिहरपुरमा पानीको अभाव भएपछि बन्द अवस्थामा रहेको डिप ट्युबवेल सञ्चालन गरिएको छ । जिल्लाको गणेशमान चारनाथ नगरपालिकाको लवटोली एक वर्ष अगाडि गाडिएको डिप ट्युबवेल नगरपालिकाले सञ्चारमा ल्याएको छ । यस क्षेत्रमा विगत एक महिनादेखि पानीको हाहाकार मच्चिएको थियो । डिप ट्युबवेल सञ्चालनपछि केही हदसम्म खानेपानीको समस्या टरेको स्थानीयको भनाइ छ ।

दिगम्बपुर र दुर्गा टोलमा पानीका स्रोत सुकेर हाहाकार मच्चिएपछि क्षीरेश्वरनाथ नगरपालिकाले वारुण यन्त्रले पानी आपूर्ति गर्दैआएको थियो । क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख यादवले दिगम्बरपुर र दुर्गा टोलमा प्रत्येक वर्ष सुख्खायाममा इनार र चापाकल सुक्ने गरेकाले ति दुवै गाउँमा थप डिप ट्युबवेल गाड्न २०÷२० लाख रुपियाँ बजेट बिनियोजन गरिएको बताउनुभयो ।

वन प्राविधिक समाज जनकपुरका महासचिव सुरेश शर्माले लामो समयदेखिको खडेरी र उखरमाउलो गर्मीबिच यस क्षेत्रमा मङ्गलबार र बुधबार बर्षा भएपनि जमिनमुनि जल पुनर्भरणका लागि प्रर्याप्त बर्षा नभएकाले इनार र चापाकलमा पानीको बढेतरी हुन नसकेको बताउनुभयो । तत्तकालीन अवस्थामा डिप ट्युबवेल पानीका लागि राम्रो विकल्प भएपनि कलान्तरमा यसले नोक्सानी पु¥याउन सक्ने उहाँले जानकारी दिनुभयो । पानी तान्ने तर जल पुनर्भरण हुन नसक्दा जमिन भासिने समस्या आउन सक्ने शर्माको भनाइ छ ।