ढल्केवर, धनुषा । शंकास्पद सवारी दुर्घटनामा मारिएका धनुषाका पत्रकार सिवेन्द्र रोहिता र विनयकुमार यादवको सम्झनामा धनुषाको ढल्केवरमा दीप प्रज्वलन गरिएको छ ।
मिथिला नगर पत्रकार सञ्जालको आयोजनामा आइतबार ढल्केवरस्थित महेन्द्र पार्कमा दीप प्रज्वलन गरिएको हो । शंकास्पद सवारी दुर्घटनामा मारिएका सिवेन्द्रको जनकपुरस्थित थापा चोकमा शनिबार बिहान ३ बजे चार पाङ्ग्रे सवारीको ठक्करबाट मृत्यु भएको छ । उहाँ राजधानी जनकपुर अनलाइनका सञ्चालक तथा सम्पादक हुनुहुन्थ्यो । यस्तो पत्रकार विनयको वैशाख ११ गते ढल्केवरमा मृत्यु भएको थियो । उहाँको मृत्यु पनि मोटरसाइकल दुर्घटनामा भएको भनिएको छ ।
दीप प्रज्वलन कार्यक्रममा मिथिला नगरपालिका ७ का वडाध्यक्ष, मिथिला उद्योग वाणिज्य संघका अध्यक्ष तेजनारायण साह, मिथिला ब्याडमिन्टन क्लबका अध्यक्ष सन्तोष महतो, नेपाली कांग्रेसका नेता बुधेश्वर महतोलगायत स्थानीय बुद्धिजीवि, व्यापारी तथा पत्रकारहरुको उपस्थिति थियो ।
दीप प्रज्वलन कार्यक्रमका सबैजसो वक्ताले दुवै पत्रकारको मृत्यु शंकास्पद सवारी दुर्घटनामा भएकाले यसको सुक्ष्मरुपले अनुसन्धान हुनुपर्ने बताउनुभयो ।