
धनुषा । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले मादक पदार्थ सेवन गरेका ३० जना सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
आइतबार राती जनकपुरधामको विभिन्न स्थानमा ट्राफिक प्रहरी अन्तर्गतका युनिटले मापसे गरी सवारी चलाउने ३० जनालाई कारबाही गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक हरिबहादुर वलीले सवारी दुर्घटना न्यूनिकरण कायम गर्न मापसे जाँच बढाएको बताउनुभयो । पछिल्लो समय लहैलहैमा लागेर घरभन्दा टाढाको दूरीमा गई मापसे गर्ने र सवारी साधन चलाएर हिँड्ने प्रवृत्तिले आकस्मिक र गम्भीर दुर्घटना निम्त्याउने गरेको तथ्याङ्कले देखाउँछ । सिसिटिभिको पहुँच न्यून र सीमित ठाउँमा मात्र ट्राफिक प्रहरीको उपस्थितिका कारण मापसे गरी सवारी चलाउने प्रवृत्ति बढ्दो देखिन्छ । यस्तो प्रवृत्तिलाई निरूत्साहित र मापसे तथा लापसे नियन्त्रणलाई प्रभावकारी बनाउन मापसे तथा लापसे जाँचमा कडाइ गरिएको उहाँले जानकारी दिनुभयो ।