ढल्केबर, धनुषा ।
खानेपानी तथा सरसफाइ उपभाक्तो समिति लालगढ धनुषाको छैठो साधारण सभा सम्पन्न भएको छ । पाँचौं साधारण सभा भएको झण्डै आठ वर्षपछि सो समितिको छैठो साधारण सभा शनिबार सम्पन्न भएको हो ।
पछिल्लो पटक २०७३ जेठ २९ गते समितिको सम्पन्न पाँचौं साधारण सभाले स्थानीय सूर्य पुडासैनीको नेतृत्वमा समिति चयन गरेको थियो । सो समितिको कार्यअवधि २०७८ जेठ २८ गते समाप्त भएपछि वडाध्यक्ष सविन विक्रम थापाको नेतृत्वमा तदर्थ समिति गठन गरिएको थियो । वडाध्यक्ष थापा नेतृत्वको समितिले छ महिनाभित्र साधारण सभा राख्न नसकेपछि मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोको पहलमा स्थानीय स्थानीय भूपालराज बरालको नेतृत्व तदर्थ समिति गठन गरेको गरिएको थियो ।
धनुषाको मिथिला नगरपालिका–१०, लालगढस्थित आदर्श माध्यमिक विद्यालयको प्राङणमा भएको छैठो साधारण सभाका अधिकांश वक्ताले निर्वतमान समितिका अध्यक्ष पुडासैनीले आर्थिक अपचलन र खानेपानी व्यवस्थापन प्रणालीलाई घरायसी अवस्थामा पु¥याएको आरोप लगाए ।
साधारण सभाका प्रमुख अतिथि एवं मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोले लालगढ खानेपानी आयोजनाको अवस्था जर्जर हुनुमा निर्वतमान अध्यक्ष पुडासैनी मात्र दोषी नरहेको बताउनुभयो । उहाँले निर्वतमान अध्यक्ष पुडासैनीको बचाव गर्दै भन्नुभयो, “लालगढ खानेपानी आयोजना घरायसी हुनुमा अध्यक्ष पुडासैनी मात्र दोषी छैन । समितिका अन्य पदाधिकार, कर्मचारी पनि उत्तिकै दोषी हुन् ।” उहाँले अब बन्ने समिति सहमतिको प्रयासबाट नेतृत्व चयन गर्न सुझाव दिनुभयो ।
मिथिला नगरपालिकाकी नगर उपप्रमुख सुनितासिंह बुढाथोकीले उपभोक्तसँग प्रत्यक्ष जोडिएको खानेपानी जस्तो समितिलाई राजनीति करणबाट टाढा राख्नुपर्ने बताउनुभयो । उहाँले सहमतिकै प्रयासबाट नेतृत्व चयन गर्न सुझाव दिँदै मतदानको अवस्था आउन नदिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “वर्तमान अवस्थामा खानेपानी सम्वेदनशील बन्दै गएको छ । जताततै खानेपानीको हाहाकार मच्चिएको छ । यस क्षेत्रमा अहिलेसम्म त्यस्तो अवस्था नआएपनि उपभोक्तालाई शुद्ध पानी उपलब्ध गराउनुका साथै मुहान संरक्षण र खानेपानी प्रणालीमा सुधार ल्याउन आवश्यक छ ।”
साधारणसभा कार्यक्रममा स्थानीय टंकु बराललगायतका वक्ताले निर्वतमान खानेपानीका अध्यक्ष पुडासैनी आर्थिक अपचलन गरेको आरोप लगाउनुभयो । सोही कार्यक्रमबाट नयाँ नेतृत्वका लागि पाँच सदस्य अध्यक्ष मण्डल चयन भएको छ ।