नगर प्रहरीले धक्का दिँदा एक महिलाको खुट्टा भाँचियो

|

जनकपुर ।
धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाको कार्यालयमा अनुदानको धान बिउ लिन पुगेका एक महिलाको खुट्टा भाँचिएको छ । नगर प्रहरीले धक्का दिँदा सोही गाउँपालिका–३, की बेचोदेवी यादवको बायाँ खुट्टा भाँचिएको स्थानीयले आरोप लगाएका छन् ।

ति महिलाको उपचार जनकपुरस्थित रमा अस्पतालमा भइरहेको छ । उहाँको खुट्टामा स्टील राखेर उपचार भइरहेको आफन्तले जनाएको छ । गाउँपालिकाले शतप्रतिशत अनुदानमा वितरण गरिरहेको धान बिउ लिन लाइनमा बसेका बेला नगर प्रहरीले अचानक धक्का दिँदा सात÷आठ जना जमिनमा लडेका थिए ।

सोही बेला बेचोदेवीको बायाँ खुट्टा भाँचिएको स्थानीय कपिलदेव यादवले बताए । भिड व्यवस्थित गर्ने क्रममा नगर प्रहरीले बल प्रयोग गर्दा अन्य दुई जना महिलासमेत घाइते भएको उनले जानकारी दिए । खुट्टा भाँचिएकी बेचोदेवीको उपचारमा लाग्ने खर्च नगरपालिकाले व्यहोर्नुपर्ने स्थानीयले माग राखेको छ ।

गाउँपालिका अध्यक्ष जयकुमार यादवले नगर प्रहरीले भिडलाई व्यवस्थित गर्ने क्रममा सो महिलालाई चोट लाग्न पुगेको बताए । सेवाग्राही स्वयम् संयमित नहुँदा यस्तो घटना हुन पुगेको उहाँले जानकारी दिए ।

अस्पताल पुगेर घाइते महिलालाई स्वयम् भेटेर आएको भन्दै उनले भने, ‘बिउ वितरणलाई व्यवस्थि गर्न वडा पिच्छे पालो प्रणाली लागू गरे पनि अरु वडाका किसान पनि आइदिँदा समस्या हुने गरेको छ ।’

स्थानीय कपिल यादवले प्रत्येक वडा कार्यालयबाट वितरण गर्नुपर्ने सहुलियतको धान बिउ एकै ठाउँबाट वितरण गरेर गाउँपालिकाले किसानलाई सास्ती दिएको बताए ।