
जनकपुर । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाले किसानलाई निःशुल्क उन्नत जातको धानको बिउ वितरण गरेको छ । गाउँपालिकाले कृषिमा संलग्न किसानको उत्पादन वृद्धि गर्ने उद्देश्यले शतप्रतिशत अनुदानमा धानको बिउ वितरण गरेको हो ।
मुखियापट्टी मुसहरनिया गाउँपालिकाका अध्यक्ष जयकुमार यादवले धान उत्पादनमा वृद्धि ल्याउन तथा किसानलाई उत्साहित बनाउन निःशुल्क धानको बिउ वितरण गरिएको बताउनुभयो । किसानका मागका आधारमा तथा जग्गाधनी पुर्जा हेरेर प्रर्याप्त मात्रामा बिउ उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यो पालिका क्षेत्रभित्र जति क्षेत्रफलमा धान उत्पादन हुन्छ त्यस अनुसार धानको बिउ ल्याएको छु, बढी हुनसक्छ कम हुँदैन ।” उहाँका अनुसार बहुगुणी–२, रामधान, हर्दिनाथ–६, लल्का बास्मती, राधा–४ लगायतका गरी १३ क्वीन्टलभन्दा बढी धानको बिउ वितरण गरिएको छ ।
अध्यक्ष यादवले धानको बिउ खरिद गर्नका लागि १० लाख रुपिया बजेट बिनियोजन गरिएको बताउँदै अहिलेसम्म सात लाख ९० हजार रुपियाँको बिउ खरिद गरिएको र अपुग भए थप ल्याउने बताउनुभयो । धानको बीउसँगै किसानलाई कृषिऔजार तथा उपकरणहरू वितरण गरिँदै आएको उहाँले जानकारी दिनुभयो ।