
ढल्केवर, धनुषा । धनुषाको लालगढमा रहेको लालगढ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको नयाँ नेतृत्व चयन निर्वाचन विधिबाट हुने भएको छ । सहमतिको प्रयासबाट नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रियामा गएको हो ।
निर्वाचन गराउन तोकिएको निर्वाचन अधिकृत नारायणविक्रम थापाले असार १ गते मतदान मिति तोकिएको बताए । जेठ २२ गते उम्मेदबारहरुको नामावली दर्ता र २३ गते दाबी विरोध मिति तय गरिएको उनले जनाए । खानेपानीको उपभोक्ता समितिका सदस्य मात्र उम्मेदबार तथा मतदान गर्न पाउने बताइएको छ । जसको नाउँमा धारा जडान गरिएको छ उही व्यक्ति मात्र उम्मेदार तथा मतदान गर्न पाउँछ ।
लालगढ खानेपानी योजनाको तथ्याङ्क अनुसार उपभोक्ता समिति एक हजार आठ सय ५४ सदस्य छन् । मिथिला नगरपालिका वडा नम्बर ९, १० र महोत्तरीको बिर्दिवास नगरपालिका वडा नं. ६ किसाननगरमा गरी एक हजार आठ ५४ घरमा धारा जडान गरिएको छ ।
पछिल्लो पटक २०७३ जेठ २९ गते समितिको सम्पन्न पाँचौं साधारण सभाले स्थानीय सूर्यप्रसाद पुडासैनीको नेतृत्वमा समिति चयन भएको थियो । सो समितिको कार्यअवधि २०७८ जेठ २८ गते समाप्त भएपछि वडाध्यक्ष सविनविक्रम थापाको नेतृत्वमा तदर्थ समिति गठन गरिएको थियो । वडाध्यक्ष थापा नेतृत्वको समितिले छ महिनाभित्र साधारण सभा राख्न नसकेपछि मिथिला नगरपालिकाले स्थानीय भूपालराज बरालको नेतृत्व तदर्थ समिति गठन गरेर पठाएको छ ।
सो समितिले जेठ १२ गते साधारण सभाको आयोजना गर्दै नयाँ नेतृत्व चयनका लागि पाँच सदस्य अध्यक्ष मण्डल चयन गरेको थियो ।