ढल्केवर, धनुषा । कार्यालयमा ढिलो उपस्थित हुने प्रवृतिमा सुधार ल्याउन कर्मचारीको हाजिर कट्टा र स्पष्टिकरण सोधेर सजाय दिनुपर्छ भन्ने छैन् । सामान्य जुक्ति अपनाएर पनि कार्यालयमा ढिला आउने कर्मचारीमा सुधार ल्याउन सकिन्छ ।
यस्तै सामान्य विधि अपनाएर धनुषाको हरिहरपुरस्थित जनता माध्यमिक विद्यालयका शिक्षकमा सुधार आएको छ । विद्यालयमा जहिल्यै ढिलो आउने शिक्षकलाई लक्षित गरी स्थानीय मनोज महतोले आफ्नो फेसबुक पेजमा ‘ढिलो आउने शिक्षकलाई फूलको गुच्छाले स्वागत गरिने’ स्टाटस लेखेको भोलिपल्टदेखि सबै शिक्षक तथा कर्मचारी समयमै उपस्थित हुन थालेका छन् ।
ढिलो आउने कर्मचारी तथा शिक्षकलाई निर्धारित समयमा उपस्थित भएर पठनपाठन गराउन पटकपटक मौखिक अनुरोध गरेपनि सुधार नआएपछि समाजिक सञ्जाल फेसबुकमा त्यस्तो स्टाटस लेखेको मनोजले बताए । विगत कयौं वर्षदेखि यहाँ कार्यरत अधिकांश शिक्षक तथा कर्मचारी ढिलो आउने र चाँडै फर्किने गरेको थियो । त्यसमा सुधार ल्याउन विद्यालयका प्रधानाध्यापक अनुपकुमार झालाई पटकपटक भनेको उहाँले सुनाए ।
विद्यालयका प्रधानाध्यापक झाले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी समयमै उपस्थित हुने गरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “सयममै उपस्थित हुन शिक्षकलाई कडाइ गरिएको छ । कहिले काँही बाटो तथा सवारीसाधनका कारण कुनै शिक्षकलाई आउन ढिलो भएको हुन सक्छ त्यसैलाई तिलको तार बनाउनु हुँदैन ।”