लालगढ खानेपानी योजना जीर्ण, पानीको समस्यामा स्थानीय

|

विजयकुमार साह
ढल्केवर, धनुषा । कुनै समय धनुषा जिल्लाको नमूना लालगढ खानेपानी योजना अहिले जीर्ण बनेको छ । मिथिला नगरपालिका–१०, लालगढमा रहेको यो खानेपानी योजनाको संरचना बर्षौँदेखि मर्मतसम्भार नहुँदा जीर्ण बनेको हो । २०४१ सालमा निर्माण सम्पनन भएको सो खानेपानी योजनाको सतह ट्याङ्की चुहिने समस्याले गर्दा प्रयोगविहिन बनेको छ भने सोही बेला निर्माण गरिएको अन्य संरचनासमेत जीर्ण भएर खानेपानी आपूर्तिमा समस्या देखिएको उपभोक्ताले गुनासो गरेका छन् ।

स्थानीयका अनुसार लालगढ खानेपानी योजना २०६७ सालअघिसम्म जिल्लाकै नमूना खानेपानी आयोजनाको रुपमा परिचित थियो । यहाँको योजना हेर्न तथा व्यवस्थापनबारे सिक्न, बुझ्न टाढाटाढाबाट अन्य खानेपानी उपभोक्ता समितिका पदाधिकारी आउँथे । अहिले त्यही खानेपानी योजना जीर्ण भएर खानेपानीको अभाव हुन थालेको छ ।

योजनाबाट मिथिला नगरपालिका वडा नम्बर ९ र १० मा गरी एक हजार ८५४ उपभोक्ताको घरमा धारा जडान गरिएको छ । त्यस्तै, मुख्य तथा शाखा गरी करिब ५० किलो मिटरको दुरीमामा पाइपलाइन बिस्तार गरिएको छ ।

जीर्ण संरचना र सुख्खायामसँग पानीको माग बढेपछि उपभोक्ताको धारामा प्रर्याप्त पानी पु¥याउन नसकिएकोे सो योजनाका कर्मचारी टिकाप्रसाद गिरीले बताउनुभयो । अहिले दैनिक १० लाख लिएर पानी माग रहेकोमा तीन लाख लिटर पनि पठाउन समस्या भइरहेको उहाँले जानकारी दिनुभयो ।

पानी जम्मा गरेर राख्न ट्याङ्की नहुँदा मुहानको पानी सिधै उपभोक्ताको धारामा पठाउने गरिएको बताउँदै कर्मचारी गिरीले झन् सुख्खा मौसमका कारण मुहान क्षेत्रमै पानी कम भएकाले वितरणमा समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले भन्नुभयो, “योजना परिसरभित्र पानी जम्मा गरेर राख्न दुई वटा ग्राउण्ड ट्याङ्की छ, दुई वटै काम लाग्ने छैन् । नयाँ बनाउने काम समितिको हो । नबनाएपछि हामी के गर्नु । हामी त समिति मातहत खटिने कर्मचारी हौं ।”

राजनितिक खिचातानी र नेतृत्व वर्गको लापरबाहीले योजना जीर्ण बनेको स्थानीयको भनाइ छ । २०६७ मा लालगढ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष बनेका सुर्यप्रसाद पुडासैनीले खानेपानी सञ्चालनमा लापरबाही गरेको र आर्थिक अपचलन गरेको स्थानीयले आरोप लगाएका छन् । केही दिन अगाडि लालगढमा सम्पन्न समितिको छैठो साधारण सभाका अधिकांश सहभागीले निर्वतमान अध्यक्ष पुडासैनीले आर्थिक अपचलन र खानेपानी व्यवस्थापन प्रणालीलाई घरायसी अवस्थामा पु¥याएको आरोप लगाउनुभयो ।

स्थानीय धु्रवप्रसाद गजुरेलले मासिक लाखौं रुपियाँ आम्दानी हुने संस्थाले यतिका वर्षमा नयाँ खानेपानी ट्यांकी बनाउन नसक्नु र उपभोक्तामा दुषित पानी खुवाउनु नेतृत्व वर्गको ठूलो लापरबाही भएको बताउनुभयो । मुहानबाट ल्याइएको पानी सिधै धारामा वितरण गर्दा यस क्षेत्रका पानीजन्य रोगका बिरामीको सङ्ख्या बढेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार अध्यक्ष पुडासैनमाथि आर्थिक अपचलनको आक्षेप र कार्यअवधि सकिएपछि मिथिला नगरपालिकाले भूपराज बरालको नेतृत्वमा तदर्थ समिति गठन गरेको छ ।

स्थानीय रमेश पहाडीले खानेपानी जस्तो समितिलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “वर्तमान अवस्थामा खानेपानी सम्वेदनशील बन्दै गएको छ । जताततै खानेपानीको हाहाकार मच्चिएको छ । यो क्षेत्र पनि खानेपानीको समस्याबाट अछुतो छैन् । उपभोक्तालाई शुद्ध पानी उपलब्ध गराउनुका साथै मुहान संरक्षण र खानेपानी प्रणालीमा सुधार ल्याउनु आवश्यक छ ।”