ढल्केबर, धनुषा ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान मधेश प्रदेशको अध्यक्षमा रुद्रसेन विश्वकर्मा चयन भएका छन् । महोत्तरीको बर्दिवासमा भेला भएका कलाकारहरुको भेलाले अध्यक्षमा विश्वकर्मासहित १३ जनाको कार्यसमिति सर्वसम्वत् चयन भएका हुन् ।
प्रतिष्ठानको उपाध्यक्षमा सुनिता बराल, सचिव विनोद ढुङ्गेल, कोषाध्यक्ष राधा गौतम, सदस्यहरुमा रुबि झा, सरोजकुमार सन्त, शर्मिला रमौली, दिपक शर्मा, तेज नारायण शर्मा, सारथी लामा, नीरकुमारी बिक, अरुणा चौधरी, राधा शर्मा, सरोज सन्त चयन भएका छन् ।
सो भेलामा उपस्थित प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रीता थापाले लोक तथा दोहोरी गीतको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यले मधेश प्रदेश प्रतिष्ठान गठन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, मधेशमा प्रतिष्ठानको बीउ रोपिएको छ । एक दिन अवश्यक बिरुवा हुर्कन, फुल्ने र फक्रने छ । प्रतिष्ठान लोक तथा दोहोरी गीत गाउनेको मात्र नभएर सबै कलाकारको संस्था भएको अध्यक्ष थापाले बताउनुभयो ।