विजयकुमार साह
ढल्केबर, धनुषा । कुनै समय किनबेच गर्नेको भिड लाग्ने धनुषाको कान्छी बजारको अस्तित्व समाप्त हुने अवस्थामा पुगेको छ । धनुषाधाम नगरपालिका–९ मा पर्ने तथा पूर्वपश्चिम राजमार्गसँग जोडिएको कान्छी बजारमा हटियाका दिन किनबेच गर्नेहरुको भिडले बजारमा खुट्टा राख्ने ठाउँ हुँदैन थियो ।
आइतबार र बिहीबार गरी साताको दुई दिन लाग्ने यहाँको बजारमा स्थानीय किसानले आफ्ना उत्पादन बेच्न आउनुहुन्थ्यो भने सिरहाको कल्याणपुर, सप्तरीको राजबिराज, जनकपुर र सीमा नजिकका भारतीय सहरबाट व्यापारी खरिद गर्न आउनुहुन्थ्यो । त्यही कान्छी बजारमा अहिले हटिया लाग्न छोडेको छ । हटिया लाग्ने जमिनमा झाडी उर्मिएको छ ।
स्थानीयका अनुसार पहिला सीमित ठाउँमा मात्र हटिया लाग्थ्यो त्यसैले हटियाका दिन निकै भिडभाडा हुन्थ्यो । केही बर्षयता गाउँगाउँमै हटिया लाग्न थालेपछि यहाँ हटिया लाग्न बन्द भएको छ ।
उहाँका अनुसार हटियाका दिन चार वटा राँगा काटिन्थ्यो । खसी, खुकुरा तथा हरियो सागसब्जीको पनि राम्रो व्यापार हुन्थ्यो । रमाइलोका लागि लोक दोहोरी चल्थ्यो ।
अर्का स्थानीय काजी लामाले थोरै दुरीको गाउँ तथा नजिक नजिक बजार लगाउन थालेपछि कान्छी बजार अस्तित्व मेटिदै गएको बताउनुभयो । पहिला बजार लगाउन जिल्ला विकास समितिाट अनुमति लिनुपर्ने भएकाले जिल्लाको सीमित ठाउँमा मात्र हटिया लाग्थ्यो अहिले बजार लगाउन कुनै अनुमति नचाहिने भएकाले टोल पिच्छे बजार लाग्ने गरेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार थोरै दुरीमा रहेको भिमान, धारापानी, कुम्हराटोल, हरिपुर, पुष्पवलपुरलगायत दर्जनौं स्थानमा बजार लाग्न थालेको छ । पहिला त्यही गाउँका किसानले उत्पादन गरेको हरियो तरकारी तथा ताजा फलफूल बिक्री गर्न ल्याउँदा यहाँ निकै भिडिभाड रहन्थ्यो । व्यापारीहरु पनि मालसामान खरिद गर्न टाढाटाढाबाट एक दिन अगाडि नै आउनु हुन्थ्यो । टाढाबाट आउने व्यापारीलाई लागि खाना खुवाएर बास दिने गरेको लामाले विगत सम्झँदै सुनाउनुभयो ।
धारापानीका कल्याण खड्काले कुनै समय सस्तो तथा ताजा तरकारी पाउने बजारको परिचय बनाएको कान्छी बजारको अस्तित्व जोगाउन स्थानीय व्यक्ति तथा जनप्रतिनिधिले पहल गर्नुपर्ने बताउनुभयो ।
‘हामीले बजारको अवस्था यस्तो होला भन्नेसम्मको कल्पना पनि गरेका थिएनौँ तर दुर्भाग्य नै भन्नुपर्छ कान्छी बजारको अतित्वनै समाप्त हुँदैछ’, उहाँले भन्नुभयो । यस स्थानमा पुनः बजार सञ्चालन गर्न सकिने बताउँदै खड्काले त्यसका लागि स्थानीयबासी जागरुक हुनुपर्ने बताउनुभयो ।