सबैला नगरपालिकाको बजेट ६२ करोड बढी

|

सबैला, धनुषा । धनुषाको सबैला नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि ६२ करोड ८८ लाख ९६ हजार रुपियाँ बजेट सार्वजनिक गरेको छ ।

सबैला नगरपालिकाका नगर प्रमुख कारीराम यादवले प्रस्तुत गरेको बजेटमा संघीय सरकारबाट ५१ करोड ४० लाख ३१ हजार, प्रदेश सरकारबाट २ करोड ४५ लाख ६५ हजार रुपियाँ प्राप्त अनुदान र आन्तरिक राजस्वत तथा मौज्दातसमेत गरी ९ करोड रुपियाँ गरी ६२ करोड ८८ लाख ९६ हजार रुपियाँ बजेट सार्वजनिक गरेको उल्लेख छ ।

वार्षिक नीति तथा कार्यक्रममा नगरपालिकाले बास्मति चामललाई ब्राण्डिङ् गरिने, पर्यटन प्रवद्र्धन, स्वास्थ्य, सिँचाइ समस्या समाधान, फोहर व्यवस्थापन, सामुदायिक विद्यालय सुधार योजना, सञ्चालन गर्ने नीति लिएको छ ।

यसैगरी, नगरपालिकाले गरिब, विपन्न, दलित महिलाको सशक्तिकरणका लागि समुह गठन तथा सीपमुलक तालिम तथा प्रविध हस्तान्त्ररण गरिने । स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाउने । सहकारी विकासका लागि सहकारी संस्थालाई सहकारी प्रवद्र्धन सम्बन्धी तालिम तथा गरिबी निवारण कार्यक्रम चलाउने सहकारी संस्थालाई नगरपालिकाबाट सहयोग उपलब्ध गराउने । सामुदायिक विद्यालय सुधार कार्यक्रम संचालनलाई निरन्तरता दिइने । नगर क्षेत्रभित्रको तथ्याङ्क अध्यावधिक गर्ने कार्य सम्पन्न गरी योजना निर्माणसँग आवद्ध गरिने । नगरपालिकाभित्र बाहिरी पर्यटकलाई आकर्षित गर्नका लागि वडा नं.४ कमला नदी छेउमा रहेको जग्गामा पर्यटकीय स्थल निर्माणका लागि आवश्यक पहल गर्ने जस्ता नीति लिएको छ ।