विजयकुमार साह
ढल्केवर, धनुषा । धनुषाको जनकनन्दिनी गाउँपालिकामा पहिलो पटक कालोपत्रे सडक निर्माण गरिएको छ । झोलुङ्गे पुल –खजुरी सडकखण्डको बौसीदेखि मुसहरी टोलसम्म दुई किलो मिटरमा निर्माण गरिएको कालोपत्रे सडक नै यो गाउँपालिकाभित्रको पहिलो कालोपत्रे सडक हो ।
जिल्लाको अन्य सबैजसो पालिकालाई लोकमार्ग, हुलाकी मार्गलगायत विभिन्न सडक खण्डले छोएको छ । कतिपय पालिकामा सङ्घीय, प्रदेश सरकारको सर्शत अनुदान तथा आफ्नै स्रोतबाट कालोपत्रे सडक निर्माण भएको छ । जिल्लाको पूर्वमा अवस्थित यस गाउँपालिकामा भने पहिलो पटक कालोपत्रे सडक निर्माण भएको स्थानीयको भनाइ छ ।
जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिनदेव यादवले जनतालाई सहज आवतजावतका लागि पालिकाभित्र पहिलो पटक अस्फाल्ट प्रविधिबाट कालोपत्रे सडक निर्माणमा गरिएकोे बताउनुभयो । खजुरीदेखि नेपालको सबैभन्दा लामो झोलुङ्गे पुल कठाल जाने बाटोमा सो सडक निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । धनुषा र सिरहा जिल्लालाई जोड्न कमला नदीमा बनेको नेपालको सबैभन्दा लामो झोलुङ्गे पुलको पश्चिमी भाग यसै पालिकाको कठालमा पर्दछ ।
खजुरीदेखि झोलुङ्गे पुलसम्मको दुरी पाँच किलो मिटर लामो छ । सो बाटोमा अहिले अहिले दुई किलो मिटरमा कालोपत्रे गरिएको र बाँकी कच्ची सडक रहेको बताउँदै अध्यक्ष यादवले बाँकी भागमा पनि कालोपत्रे गर्न टेण्डर गरिएको बताउनुभयो ।
अध्यक्ष यादवका अनुसार सो कालोपत्रे सडक पालिकाको आफ्नै बजेटबाट निर्माण गरिएको छ । सडक निर्माणका लागि तीन करोड २० लाख रुपियाँ बजेट बिनियोजन गरिएकोमा दुई करोड ८० लाख रुपियाँमा राजदेवी आदर्श जेभि कम्पनीलाई ठेक्का पाएको थियो ।
ग्रामीण क्षेत्रमा कच्ची सडक समस्याकै रुपमा रहेकोले अब ति सडकहरुलाई स्तरोन्नतिसहित कालोपत्रे गरिने उहाँको भनाइ छ । सहज सडकले विकासका अन्य गतिविधिलाई समेत जोड्ने भएकाले कालोपत्रे सडक निर्माण र स्तरोन्नतिको काम अघि बढाइएको बताउँदै अध्यक्ष यादवले पूर्वाधार विकाससँगै पालिकाले कृषि क्षेत्र, शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर वृद्धिमा लगानी बढाएको बताउनुभयो ।
स्थानीय युवा विनोदकुमार मण्डलले जनताको भावना बुझेर पालिकाले गाउँस्तरमा निर्माण गरेको कालोपत्रे सडकले झोलुङ्गे पुल घुम्न आउने पर्यटक तथा स्थानीयलाई आवतजावतका लागि सहज भएको बताउनुभयो ।