
ढल्केवर, धनुषा । धनुषाको यदुकूहामा कुटपिटबाट एक अपरिचित व्यक्ति मरणासन्न अवस्थामा पुगेको छ । आइतबार साँझ धनुषाको सहिदनगर नगरपालिका–७, नेमुवाटोलमा सोही ठाउँका ३० वर्षिय जितेन्द्र मण्डलले कुटपिट गर्दा नाम ठेगाना खुल्न नसकेका अन्दाजी ६० वर्षिय एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
कुटपिटबाट सो अपरिचित व्यक्तिको टाउको, खुट्टा तथा शरीरको विभिन्न भागमा गहिरो चोट लागेको छ । उनको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले कुटपिटबाट घाइते अपरिचित व्यक्तिको टाउकोमा रगत जमेको तथा अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी गराएको बताए ।
कुटपिट गर्ने मण्डललाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय यदुकूहामा राखिएको उनले जनाए । के कुन कारणले कुटपिट गरिएको हो त्यो खुल्न नसकेको बताउँदै प्रवक्ता अवाले घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए ।
स्थानीयका अनुसार लागूऔषध सेवन गरेका मण्डलले सो अपरिचित व्यक्तिलाई जबर्जस्ती रक्सी खान लगाएको र रक्सी खान नमानेपछि बोतल तथा लातमुक्काले हानेर घाइते बनाएको हो ।