बाढीको जोखिममा सुखजोरको सुकुम्बासी बस्ती

|

ढल्केवर, धनुषा । धनुषाको मिथिला नगरपालिका–२, सुखजोर खोला नजिकको रहेको सुकुम्बासी बस्ती बाढीको जोखिममा परेका छन् । बर्षासँग खोलामा आएको बाढीले सो बस्तीका करिब १५ घर बाढीको जोखिममा परेका हुन् ।

स्थानीयका अनुसार बाढीले नदी किनारको करिब १० कठ्ठाभन्दा बढी जमिन कटान गरिसकेको छ भने नवनिर्मित बसही मन्दिरमा क्षति पु¥याएको छ । खोलाको बाढीले बगाउन तथा घर भत्काउने सक्ने भएकाले कतिपयले घर खाली गरेर छिमेकीको शरणमा बसेका छन् ।
स्थानीय ममता महतोले बस्ती जोगाउन स्थानीय जनप्रतिनिधिले चासो नदिँदा खोलामा आएको बाढीले बस्ती जोखिममा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोको मोबाइल स्वीच अफ छ । प्रदेश सभा सदस्य हरिनारायण महतालाई भन्दा मेयरलाई भन्नु भन्छ । हामी कहाँ जाउँ कसलाई भनौ । हाम्रो पीडा सुनिदिने, बुझिदिने कोही भएन ।” वडाध्यक्ष बिहारी महताले साथ सहयोग गरिरहेको उहाँले सुनाउनुभयो ।

स्थानीय सरकारले बस्ती जोगाउनेतर्फ ध्यान नदिए ठूलो धनजनको क्षति हुने बताउँदै ममताले तत्कालै स्थानीय सरकारले बस्ती जोगा पहल गर्न आग्रह गर्नभयो । बाढीग्रस्त क्षेत्रमा पुग्नु भएकी नगर उपप्रमुख सुनितासिंह बुढाथोकीले बस्ती जोगाउन जेसिबीको मद्दतले खोला बहाव परिर्वतनको काम भइरहेको बताउनुभयो । उहाँले नगरपालिकाको जेसिबी तत्काल उपलब्ध हुने अवस्था नरहेको बताउँदै व्यक्तिगत खर्चमा भएपनि निजी जेसिबीबाट बहाव परिवर्तनका काम गराइरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार नगरपालिकामा विपद् व्यवस्थापन समिति गठन नभएकाले पनि विपद्को जोखिम न्यूनिकरण, उद्धारका काम समस्या भइरहेको छ । नगर प्रमुखको नेतृत्व गठन हुनुपर्ने नगरस्तरीय विपद् व्यवस्थापन समिति अहिलेसम्म गठन हुन नसकेको नगर उपप्रमुख बुढाथोकीले बताउनुभयो ।