
ढल्केवर, धनुषा । धनुषाको ढल्केवरमा रहेको महेन्द्र माध्यमिक विद्यालय ढल्केवरको जग्गामा भएको मसला (भिक्स) को रुख लुकिचोरी कटान गरिएको छ । मिथिला नगरपालिका–१ रहेको विद्यालयको जग्गाबाट ३० देखि ४० वटा मसलाको रुख लुकिचोरी कटान गरिएको स्थानीयले जनाएका छन् ।
स्थानीयका अनुसार कटान गरिएको काठमध्ये धेरैजसो ओसार लगिसकेको छ । बाँकी रहेको काठ ओर्सान लाग्दा रोक्न प्रयास गरेपछि ट्याक्टरमा लोड गरिएको जति काठ लिएर फरार भएको स्थानीयको भनाइ छ ।
महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक रामकुमार महतोले रुख कटानबारे मंगलबार बिहान मात्र थाहा भएको बताए । थाहा भएपछि कटान भइरहेको स्थानमा पुगेर तत्काल काठ लान रोक लगाएको जानकारी दिए । उनले स्थानीय विनोद भन्ने काठ ठेकेदारले रुख कटान गरेको बताउँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, वडा नं.१ का वडाध्यक्ष र वडा नं.६ का वडाध्यक्षबिच छलफल गरेर के गर्ने भन्ने विषयमा टुङ्गो लगाउने जनाए ।
प्रधानाध्यापक महतोले सो काठ बिक्री तथा कुनै पनि प्रयोजनका लागि कसैलाई नदिएको बताए ।