वीरेन्द्र बजार, धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिका–३, भरतपुरमा एक आँप व्यापारीको रकम लुटपाट भएको छ । बुधबार दिउँसो ४ः३० बजेको समयमा सोही ठाउँका आँप व्यापारी श्रीनारायण साहसँग भएको ९३ हजार नगद र उनको छोरा लालु साहले घाँटीमा लगाएको सुनको हनुमानको लकेट लुटपाट भएको बताइएको छ ।
व्यापारी श्रीनारायणले वीरेन्द्र बजारस्थित माछापुच्छरे बैंकबाट रकम झिकेर घर भरतपुरतर्फ जाने क्रममा घरभन्दा उत्तरमा सात–आठ जनाको समूहले कुटपिट गर्दै आफूसँग भएको उक्त रकम र छोरासँग भएको सुनको लकेट लुटपाट गरेको बताए । उनले ६८ हजार बैंकबाट झिकेको र २५ हजार रुपियाँ आफूसँग पहिलादेखि नै रहेको जनाए ।
लुटेरा समूहले लुटपिट गर्न थालेपछि हो–हल्ला गर्दा छोरा र श्रीमती घटनास्थलमा आइपुगेको बताउँदै उनीहरुले छोराको सुनको लकेट र श्रीमतीको नाकको फुलीसमेत लुटेको व्यापारी श्रीनारायणले बताए । लुटपाटमा संलग्न अधिकांश स्थानीय भएको उनले भने ।
व्यापारी श्रीनारायणले वीरेन्द्र बजार प्रहरी चौकीले लुटपाटमा संलग्न भरत साह र विमल यादवलाई पक्राउ गरेपनि कुनै कारबाही नगरी बुधबार बिहान छोडेको बताए ।
वीरेन्द्र बजार प्रहरी चौकीका इन्चार्ज विमल गौतमले लुटपाटभन्दा पनि लेनदेनको विषयमा दुई पक्षबिच विवाद भएको बताए । व्यापारीसँग विवाद गर्नेहरु पहिला सोही आँप व्यापारीकोमा काम गर्ने गरेको र काम गरेको पैसा बाँकी रहेकाले विवाद भएको बुझिएको उनले जानकारी दिए । घटना सामान्य भएकाले स्थानीयको जमानीमा पक्राउ परेको ति दुई जनालाई छोडिएको प्रहरी इन्चार्ज गौतमले भने ।
पैसा र सुनको गहना लुटिएको विषयमा उनले भने, श्रीनारायण व्यापारी मान्छे हो । उसँग पैसा थिएन भन्ने कुरा नकार्न सकिँदैन । अब उनीहरुले नै लुटेको हो कि नियतवश अरु कसैले झिकेको हो । यससम्बन्धमा अनुसन्धान गरिरहेका छौँ ।
यता, व्यापारी श्रीनारायणले प्रहरीले अपराधीलाई जोगाउन लागेको बताउँदै उनीहरुसँग कुनै पनि प्रकारको लेनदेन नरहेको बताए । उनले ति लुटेरा समूहले मोबाइल र मोटरसाइकलमा पनि क्षति पु¥याएको जानकारी दिए ।