ढल्केवरस्थित आँखा अस्पतालद्वारा बिरामीका लागि निःशुल्क ई–रिक्सा सञ्चालन

|

ढल्केवर, धनुषा । राजनीतिक हस्तक्षेप र आर्थिक अपारदर्शिताका कारण जनकपुरस्थित जानकी आँखा अस्पताल धरायसी बन्दै गएका बेला धनुषाको ढल्केवरमा सञ्चालित आँखा अस्पतालले भने आँखाका बिरामीका लागि निःशुल्क ई–रिक्सा पुनः सञ्चालनमा ल्याएको छ ।

ढल्केवरस्थित रेयूकाई एईको मासुनागा आँखा अस्पतालले आँखाका बिरामीका लागि निःशुल्क ई–रिक्सा पुनः सञ्चालनमा ल्याएको हो ।

आँखा जाँच गराउने आउनेहरुलाई सहजताका लागि निःशुल्क ई–रिक्साको व्यवस्था मिलाइएको रेयूकाई एईको मासुनागा आँखा अस्पतालका महासचिव हिरामणि शर्माले बताउनुभयो । उहाँले आँखाका बिरामीलाई थप आर्थिक भार नपरोस भनेर यो व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

ढल्केवर चौकदेखि करिब एक किलोमिटर पूर्व–उत्तरमा रहेको यस आँखा अस्पतालमा पुग्न भाडाको सवारी प्रयोग गर्दा एक सय रुपियाँसम्म लिने गरेकाले ढल्केवर चोकबाट अस्पतालसम्म आउन जान निःशुल्क ई–रिक्साको व्यवस्था गरेको महासचिव शर्माले बताउनुभयो ।

सुविधा सम्पन्न यस आँखा अस्पतालमा अहिले दैनिकजसो एक सयभन्दा बढी आँखाका बिरामी उपचारका लागि आउने गरेका छन् । यहाँ अन्य ठाउँको तुलनामा कम खर्चमा आँखा उपचार हुने गरेको छ ।

अमेरिकन समाजिक संस्था डोली इन्टर्मड इन्टरनेशनलको करिब तीन करोड लागतमा निर्माण भएको यस आँखा अस्पतालमा आँखासम्बन्धी सम्पूर्ण उपचारको सुविधा उपलब्ध रहेको महासचिव शर्माले बताउनुभयो ।

अस्पतालमा नेत्ररोग विशेषज्ञ चिकित्सकद्वारा उपचार एवम् शल्यक्रियाका लागि चाहिने सबै अत्याधुनिक उपकरणसहित सेवा प्रदान गर्दै आएको उहाँले जानकारी दिनुभयो ।