पानी सङ्कट : मसलाका रुख दोषी कि मानवसिर्जित समस्या

|

विजयकुमार साह

काठका लागि उपयोगी मानिने मसलाका रुख तराईमा जताततै रोपिएका छन् । छिटो वृद्धि हुने र सदाबहार हरियो देखिने यसलाई तराईमा सपेता तथा भिक्स पनि भन्ने गरिन्छ । बिरुवा रोपेको सात÷आठ वर्षमै आय दिने हुँदा मधेशका जङ्लदेखि किसानका खेतबारीमा समेत यो रुख व्यावसायिक रूपमा रोपिएका हुन् । यो रुख २५ देखि ५० मिटर अग्लो र दुई मिटरसम्म गोलाइको हुन्छ । यसको काठ झ्यालढोका, फर्निचरलगायत प्लाई बनाउन पनि प्रयोग हुन्छ । यसको पातबाट सुगन्धित तेलसमेत निकाल्न सकिन्छ । यसको तेल साबुन, माउथवास, पतेरो किराको नियन्त्रण र मसाजमा प्रयोग गरिन्छ ।

पछिल्लो समय यही मसलाको रुखले मधेशमा मरुभूमिको जोखिम बढाएको आमधारणा बन्दै गएको छ । मधेशमा अहिले यो ठुलो बहसको विषयसमेत बनेको छ । एकातिर मसलाका रुखकै कारण तराईमा जमिनमुनि पानीको सतह घटेर पानीको सङ्कट उत्पन्न भएको भन्दै यसलाई उन्मूलन गर्नुपर्ने आवाज उठिरहेको छ भने अर्कातिर यो रुखले खडेरी ल्यायो भन्नु गलत भएको भनाइ पनि आइरहेको छ । अहिले यस भेगमा सर्वसाधारण मात्र नभएर स्थानीय तह, सामाजिक सङ्घ संस्था र केही विज्ञसमेत मसलाका रुखविरुद्ध जनमत बनाउन र यो रुख हटाएर अन्य प्रजातिका बिरुवा रोप्ने अभियानमा जोडिन थालेका छन् ।

सागरनाथ वन विकास परियोजनाले २०३४ सालतिर नेपालमा पहिलो पटक यो रुख भित्रियाएको तथ्यले देखाउँछ । यो रुख अहिले मधेशभर फैलिएको छ । कृषिविज्ञ राजेन्द्र देवकोटाका अनुसार अस्ट्रेलियाको तास्मिनिया टापुमा यसको उत्पत्ति भएको पाइन्छ । एक बेलायती नागरिकले सन् १८४३ मा भारतको तमिलनाडुमा यसको बिरुवा ल्याएर रोपेका थिए । त्यहीँबाट विस्तार हुँदै यो नेपालमा भित्रिएको बताइन्छ । पहिलो पटक सागरनाथ वन क्षेत्रमा मसलाका बिरुवा रोपिएको थियो । पछि सरकारले नीति नै बनाएर ‘तराईका आली आलीमा सपेता, गरिब बेपत्ता’ भन्ने नारा दिई यसलाई सबैतिर रोप्न प्रेरित गरेको वनविज्ञहरूको भनाइ छ ।

तथ्याङ्क अनुसार महोत्तरी, सर्लाही र रौतहटसम्म फैलिएको सागरनाथ वन विकास परियोजना अन्तर्गत १३ हजार पाँच सय हेक्टर क्षेत्रफल जग्गा छ । त्यसमध्ये १० हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा मसला रोपिएको छ । एक बिघामा एक हजार छ सयसम्म बिरुवा रोपिने हुँदा सागरनाथ वन परियोजनामा मात्रै एक करोडभन्दा बढी मसलाका रुख हुन सक्ने अनुमान गरिएको छ । चाँडै बढ्ने हुँदा काठको माग आपूर्तिमा सहज हुने र त्यतिखेर विद्युत् पोल (खम्बा) का लागि पनि उपयोगी हुने अभिप्रायले विदेशबाट झिकाएर मसलाको बिरुवा रोपिएको तथ्यहरूले देखाउँछ । अहिले मधेशका जङ्गल तथा निजी भूभागमा गरी झन्डै छ करोड मसलाका रुख रहेको अनुमान छ ।

मसलाका रुख उन्मूलन गर्न निर्देशन

मधेश प्रदेश सभा अन्तर्गतको प्राकृतिक स्रोत तथा वातावरण समितिले वन तथा वातावरण मन्त्रालयलाई मसलाका रुखको दिगो व्यवस्थापन गर्न निर्देशन दिएको छ । समितिले प्रदेशभित्र रहेका मसलाका रुखको दिगो व्यवस्थापन गरी उक्त रुखको ठाउँमा बहुउपयोगी जडीबुटी, फलफूल र वातावरणमैत्री वृक्षरोपणलाई प्रोत्साहन गर्ने नीति अख्तियार गर्न वन तथा वातावरण मन्त्रालयलाई यही असार १० गते पत्राचार गर्दै निर्देशन दिएको हो । विज्ञको भनाइ तथा जनगुनासोलाई ध्यानमा राख्दा मधेशमा पानीका मुहान सुक्दै जानु, भूमिगत जलस्तर घट्नु र इनारलगायत पानीका स्रोतहरू सुक्ने विभिन्न कारणमध्ये मसलाको रुख पनि एक कारण भएको सो पत्रमा उल्लेख छ । प्राकृतिक स्रोत तथा वातावरण समितिका सभापति शारदादास पहाडीले मसलाका रुखको विषयमा स्थानीयस्तरबाट व्यापक गुनासो आएपछि समितिको बैठकबाट निर्णय गरेर यो रुखको दिगो व्यवस्थापन गर्न निर्देशन जारी गरिएको बताउनुभयो ।

यसै गरी धनुषाको धनुषाधाम नगरपालिकाले नगर क्षेत्रभित्रबाट मसला (भिक्स) प्रजातिका रुख काटेर हटाउन जेठ १ मा सूचना जारी गरेको छ । तराईमा पानीको अभाव उत्पन्न हुनुमा मसलाको रुख पनि एक कारण भएको ठहर गर्दै नगरपालिकाले यो प्रजातिको रुख नगर क्षेत्रबाट काटेर हटाउन सूचना सार्वजनिक गरेको हो ।

पानी र माटोका लागि उपयुक्त नभएकाले मसलाको रुख काटेर हटाउने निर्णय गरिएको नगरपालिकाका प्रमुख बालेश्वर मण्डलले बताउनुभयो । स्थानीयवासीको जनगुनासोका आधारमा नगरपालिकाको हिउँदे अधिवेशनबाट मसलाको रुख विस्थापित गर्ने निर्णय पारित गरेको जानकारी उहाँले दिनुभयो । मसलाका रुख काठका लागि उपयुक्त भए पनि यसले जमिनबाट धेरै पानी सोस्ने भएकाले भूमिगत पानीको सतह गहिरिँदै गएर मरुभूमिको जोखिम बढेको र माटोको उर्वरा शक्तिमा समेत गम्भीर असर पु¥याएकाले यसलाई उन्मूलन गर्ने निर्णय गरिएको उहाँको भनाइ छ ।

त्यस्तै धनुषाको मिथिला नगरपालिकाले अबउप्रान्त मसलाका बिरुवा रोप्न बन्देज लगाएको छ भने भएका मसलाको रुखलाई बिस्तारै विस्थापित गर्ने निर्णय गरेको छ । पानीको थप सङ्कट बढ्न नदिन यस्तो निर्णय गरिएको मिथिला नगरपालिकाका उपप्रमुख सुनितासिंह बुढाथोकीको भनाइ छ । सिराहाको कर्जन्हा नगरपालिका र महोत्तरीको बर्दीबास नगरपालिकाले मसालाका रुख विस्थापित गर्ने कार्यलाई नीति तथा कार्यक्रममै समावेश गरेका छन् ।

पारिस्थितिक प्रणालीमा समस्या

लामो समयदेखि चुरे तथा वातावरणीय क्षेत्रमा काम गर्दै आएका नागदेव यादवले एउटा वयस्क रुखले दैनिक ६२ लिटर पानी सोस्ने गरेको बताउनुभयो । चुम्बकले फलाम ताने जस्तै सो रुखले वरपरको पानी तान्ने हुँदा उत्पादनमा समेत यो रुख घातक बनिरहेको उहाँको भनाइ छ । यो रुखले पारिस्थितिक प्रणालीमा समेत समस्या उत्पन्न गरेको एक अध्ययनले देखाएको छ । यस रुखमा चराचुरुङ्गीले बासस्थान बनाउँदैन र किरा पनि बस्दैन । वनमा लगाइएको यो रुखले अन्य रुखको समेत अस्तित्व नष्ट गर्ने गरेको यादवको दाबी छ । यसको पातमा समेत एसिड पाइने अध्ययनले पुष्टि गरेको छ । यसका कारण पात जमिनमा खस्दा पातवरपरको हरियोपनालाई नष्ट गर्ने र अन्य झारपात तथा बाली उम्रन नदिई जमिनलाई बन्जर बनाउने अर्को समस्या रहेको उहाँको भनाइ छ ।

स्थानीय किसानसमेत मसलाका रुख भएको ठाउँवरपरको जमिन बन्जर हुने गरेको बताउँछन् । अन्य रुख भएको ठाउँमा बाक्लै घाँस पाइने तर यो रुख भएको ठाउँमा घाँस तथा अन्य अन्नबाली नउम्रिने गरेको किसानको बुझाइ छ । महोत्तरीको रामगोपालपुरका रामसरोज यादवले मसलाका रुख भएको ठाउँदेखि दुई सय मिटर वरपरको जमिनमा अन्नबाली उत्पादन हुन छाडेको बताउनुभयो । यो रुख रोप्नुअगाडिसम्म खेतमा राम्रै फसल उत्पादन हुन्थ्यो तर अहिले खेतमा अन्न फल्नै छाडेको उहाँको बुझाइ छ । अर्का किसान पदम मगरको पनि उस्तै बुझाइ छ । मसलाको रुख रोपेपछि उर्वर भूमि बन्जर बनेको र पानीको अभाव भएको उहाँ बताउनुहुन्छ ।

मानवसिर्जित समस्याले पानी सङ्कट

चुरे तथा जलाधारविज्ञ डा. विजयकुमार सिंह दनुवारले पानीका मुहान सुक्नुमा विश्वव्यापी जलवायु परिवर्तनलगायत यस्तै मानवसिर्जित समस्या रहेको बताउनुभयो । “मानवसिर्जित समस्या, वन विनाश, चुरे क्षेत्रको अनियन्त्रित उत्खनन र जलाधार क्षेत्रको अतिक्रमण मुख्य कारण हुन् । मसलाका रुख पनि पानीको स्रोतका मुहान सुक्ने कारण भएकोबारे अहिले व्यापक अभिमत बढेको छ,” डा सिंहले भन्नुभयो । यसबारे थप अध्ययन, अनुसन्धान हुनु आवश्यक रहेको उहाँको भनाइ छ ।

यस्तै वृक्ष मानवको उपनामले परिचित पर्यावरण संरक्षण अभियन्ता तथा वन निर्देशनालय मधेश प्रदेशका वन अधिकृत सुरेश शर्माले मसलाको रुखका कारण मधेशमा मरुभूमिको जोखिम बढेको भन्नु मनगढन्त भएको बताउनुभयो । हालसम्म वैज्ञानिक आधार नभेटिएको बताउँदै उहाँले यस्तो हल्लाका पछाडि नलाग्न आग्रह गर्नुभयो । “जो छिटो बढ्छ, उसले निश्चय नै बढी खाना खान्छ । मसलाको रुख पनि छिटो बढ्ने र चाँडै आम्दानी दिने प्रजाति हो । यसको मतलब यो होइन कि यसले जमिनमुनिको सम्पूर्ण पानी सोसेर सतह सुक्खा बनाउँछ । त्यस्तै हो भने पहाडी र हिमाली क्षेत्रमा पनि पानीको स्रोतमा कमी आइरहेको छ, त्यहाँ त यो प्रजातिको रुख छैन । मानवले निम्त्याएको समस्याको दोष कुनै एक प्रजातिको रुखमाथि थोपर्नु हुँदैन,” अधिकृत शर्माले भन्नुभयो ।

विश्वव्यापी जलवायु परिवर्तन, वन विनाश, चुरे क्षेत्रको अनियन्त्रित उत्खनन र जलाधार क्षेत्रको अतिक्रमणका कारण मधेश मरुभूमीकरण हुँदै गएको उहाँको भनाइ छ । उहाँका अनुसार केही तŒव गलत हल्ला फैलाएर सम्पूर्ण रुख काट्न लगाउने षड्यन्त्रमा लागेका छन् । यसले मधेशमा झन् ठुलो पर्यावरणीय सङ्कट उत्पन्न हुन सक्ने उल्लेख गर्दै उहाँले हालसम्म यस विषयमा वैज्ञानिक अनुसन्धान नभएको प्रस्ट पार्नुभयो ।

मिथिला वाइल्ड लाइफ ट्रस्ट धनुषाका अध्यक्ष देवनारायण मण्डलले केही मिडिया र स्वघोषित विज्ञले गर्दा जनमानसमा मसलाका रुखप्रति गलत धारणा बस्दै गएको बताउनुभयो । मसलाका रुखले नभई प्राकृतिक रूपमा जल पुनर्भरणका माध्यम बन्द हुँदा मधेशमा पानीको समस्या उत्पन्न भएको उहाँको भनाइ छ ।

सुकुमवासी आयोग र भूमि आयोगले विभिन्न कालखण्डमा चुरे क्षेत्रका लाखौँ बिघा वन क्षेत्र विनाश गरेर लालपुर्जा वितरण गरी मानव बस्ती बसाएको छ । राजमार्ग, खेलमैदान, मेडिकल कलेज, एयरपोर्ट, तालिम केन्द्र तथा कङ्व्रिmटका भौतिक संरचनाका साथै विभिन्न राष्ट्रिय गौरवका आयोजनाहरू प्राकृतिक वन क्षेत्र चुरेमा मात्रै निर्माण गर्ने र त्यसका लागि आवश्यकताभन्दा बढी वन फँडानी गर्दा मधेशमा पानीको मुहानलाई असर परेको हो ।

यसै गरी जताततै प्लास्टिकजन्य फोहोर, पोखरी तथा नदीका तटमा कंक्रिटका घाट निर्माणले जल पुनर्भरणका प्राकृतिक माध्यम बन्द हँुदा पनि जमिनमुनि पानीको सतह घट्दै गएको छ । यस्तै मधेशका सार्वजनिक स्थानमा रहेका पुराना वरपिपल, समी, नीम, पाखर, गुलर, महुवा, जामुन र बाँसले पानीलाई रोकेर जमिनमुनि पठाउने काम गथ्र्याे । सडक निर्माण तथा विभिन्न कारणले ती रुख काटेर कंक्रिट र कालोपत्रे संरचना निर्माण भएको छ । यीलगायत थुप्रै कारणले मधेशमा पानीको समस्या उत्पन्न भएको अध्यक्ष मण्डलले बताउनुभयो । पानी सङ्कट उत्पन्न भएपछि तराई मधेशका बासिन्दा पानी माग्दै सङ्घीय राजधानी काठमाडौँमा धर्नासमेत बसेका छन् ।

 

मसलाको रुखले खडेरी ल्यायो भन्नु गलत
वन तथा वातावरण मन्त्रालय मधेश प्रदेशका सचिव उद्धवबहादुर घिमिरेले मसलाका रुखले खडेरी ल्यायो भन्नु पुरै गलत भएको बताउनुभयो । मानव सिर्जित समस्याको दोष कुनै वृक्षमाथि लक्षित गरिएकोमा उहाँले दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “चुरे भनेको पानीको एटिएम मेसिन हो । जसरी एटिएम मेसिनबाट पैसा झिक्दा खातामा पैसा जम्मा भएको हुनुपर्छ त्यसैगरी जमिनमुनिबाट पानी झिक्न जमिनमुनी पानी जम्मा गर्नुपर्छ । हामीले ठूल्ठूला डीप बोर्डिङ् गाडेर पानी झिक्ने काम मात्र गर्यौं जम्मा गरेनौं । हामीले पानीको मुख्य स्रोत चुरे विनास गर्यौँ । त्यसैले मधेशमा पानीको सङ्कट बढ्दै गयो । मसलाका रुखले खडेरी ल्यायो भन्नु गलत हो ।”
सचिव घिमिेरेले यसबारे वैज्ञानिक अध्ययन गरेर वास्तविक पता लगाउन वन विभागका विज्ञ टोलीबाट जाँच गराउने उल्लेख गर्दै केही महिनामै राष्ट्रियस्तरमा सरोकारबाला पक्षहरुको भेला गरी मसला रुखको प्रकृति र पानीको मुहान संरक्षणलगायतका विषयमा प्रस्ष्ट पार्ने योजना रहेको जानकारी दिनुभयो ।
यस्तै, सागरनाथ वन विकास परियोजना प्रमुख प्रेमीलाल प्रसादले पछिल्लो समय जलवायु परिवर्तनको तीव्र असर र चुरे क्षेत्रको दोहनले पानीको स्रोत सुक्दै जान थालेको बताउनुभयो । मसलाका रुखले पानीको स्रोत सुकेको र जमिनको उर्वराशक्ति पनि घटाएको स्थानीयको दाबीमा सत्यता नभएको सुनाउनुभयो ।
मसला रुखले नै तराई–मधेश क्षेत्रमा पानीका स्रोत सुकाएको भन्नेबारे कुनै अध्ययनले प्रमाणित नगरेको उहाँको भनाइ छ । परियोजना प्रमुख प्रेमीलालले भन्नुभयो, “मसलाले नै यहाँको पानीको स्रोत घटाएको भन्ने कुनै प्रमाणित भएको छैन् । मधेश क्षेत्रमा पानीको स्रोत सुक्नु अरु धेरै कारण छन् । मसला रुख नभएका जिल्लामा पनि पानीका स्रोत सुकेका छन् । यो जलवायु परिवर्तनको असर हो ।”
वनस्पतिविद कमल मादेनले तराइ–मधेशका जिल्लामा मसला रुखकै कारण पानीको स्रोत सुकेको एकिनका साथ भन्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो, “मधेशका धेरै जिल्ला चुरेसँग जोडिएका छन् । चुरे दोहन हुँदा पानीको स्रोत प्रभावित भएका छन् । पानीका स्रोत सुक्नुमा मसलाको रुखको पनि केही भूमिका हुनसक्ने भन्दै मधेशका केही पालिकाहरुले त्यसलाई हटाउने अभियान चलाएका हुन् ।”

अमेरिकाको नेसनल लाइब्रेरी अफ मेडिसिनले तयार पारेको रिपोर्ट :

अमेरिकाको नेसनल लाइब्रेरी अफ मेडिसिनले मसलाका रुखको पातमा एसिड हुने हुँदा माटोको उर्वरा शक्तिमा ह्रास आउने र पानी बढी सोस्ने निष्कर्ष निकालेको छ । एक प्रतिवेदन अनुसार भूमिगत पानीमा यसले गहिरो असर पु¥याउने गर्छ । यसै गरी संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनले सन् १९९३ मा गरेको अध्ययनमा चार सय एमएलदेखि १२ सय एमएलसम्म वार्षिक वर्षा नहुने ठाउँमा यो रुख रोप्न प्रतिबन्ध लगाउनुपर्ने सुझाव दिइएको छ । यो रुखले अक्सिजनमा समेत खासै सहयोग नगर्ने अध्ययनमा उल्लेख छ ।

त्यस्तै अस्ट्रेलियाका लेखक एलन रुटले आफ्नो एक लेखमा यो रुख पानीका लागि हानिकारक हुन सक्ने बताएका छन् । यो रुखको उत्पत्ति पनि अस्ट्रेलियामै भएको मानिन्छ । लेखक रुटका अनुसार अस्ट्रेलियाको सिमसार र दलदल भएको ठाउँलाई सुक्खा बनाउन यो रुख लगाइएको थियो । पछि केही वर्षमै सिमसार क्षेत्रलाई यसले सुक्खा बनायो । त्यसपछि ब्राजिलको सिमसार क्षेत्रमा यो रुख लगाउन सुरु गरियो । छिटो बढ्ने र अन्य रुखको तुलनामा अग्लो, मोटो हुने हुँदा आयआर्जनका दृष्टिले फाइदाजनक देखिएपछि यो विश्वभर फैलिएको पाइन्छ । अहिले विश्वका ६७ भन्दा बढी देशमा यो रुख रहेको विज्ञहरू बताउँछन् । मसलाको रुखलाई अरु भूभागमा सार्नुमा अस्ट्रेलियाका डा. एममन्डो नाभारु डे आन्ड्राको ठुलो योगदान रहेको बताइन्छ । ब्राजिलमा विनाश हुँदै गएको जङ्गललाई पुनः घना बनाउने अठोट गरेर सन् १९१० मा उहाँले अस्ट्रेलियाबाट मसलाको बिरुवा लानुभएको थियो । उहाँले लगेकामध्ये तीन करोड ८० लाख बिरुवा उहाँ आफैँले रोप्नुभयो । अहिले ब्राजिलमा मात्र दुई अर्बभन्दा बढी मसलाका रुख रहेका बताइन्छ ।

‘वैज्ञानिक तथ्य फेला परेको छैन’


त्रिभुवन साह,
मन्त्री, वन तथा वातावरण मन्त्रालय, मधेश प्रदेश

मसलाका रुखले पानी सुकाउँछ भन्ने विषयमा कुनै वैज्ञानिक तथ्य प्रमाण फेला परेको छैन । केही स्थानीय तहले यही रुखका कारण पानीको स्रोत सुकेको तथा जमिनको उर्वरा शक्ति घट्दै गएको भन्दै यसलाई हटाउने निर्णय गरेका छन् । त्यो गलत कदम हो । यसको वैज्ञानिक आधार पता लगाउने प्रयास भइरहेको छ । यसका लागि वन अनुसन्धान विभाग तथा वनस्पतिविज्ञलाई बोलाउने योजना छ । उहाँहरूले सत्यतथ्य प्रस्ट पार्नुहुन्छ । मधेशमा पानीको सङ्कट उत्पन्न हुनुका धेरै कारण छन् । जलवायु परिवर्तन, चुरे दोहन, हरियाली क्षेत्रको कमीले पानीको समस्या भएको हो । प्रदेशमा मसलाका रुख नभएका स्थानमा पनि पानीका स्रोत सुकेका छन् । यो जलवायु परिवर्तनको असर हो । त्यसैले जलवायु परिवर्तनको असर न्यून गर्न तथा हरियाली वृद्धि गर्न चालु आर्थिक वर्षमा एक करोड बिरुवा रोप्ने अभियान सुरु गरेका छौँ । रोपिएका बिरुवा संरक्षणका लागि निरीक्षण गर्ने व्यवस्था पनि मिलाएका छौँ ।

‘अनुसन्धानबाट प्रमाणित भएको छैन’


उद्धवबहादुर घिमिरे
सचिव, वन तथा वातावरण मन्त्रालय, मधेश प्रदेश

मसलाका रुखले पानीको स्रोत सुकायो भन्नु गलत हो । यस विषयमा अहिलेसम्म भएका अध्ययन अनुसन्धानले यस्तो प्रमाणित गरेको छैन । यो रुख नेपालमा मात्र नभएर विश्वरभर छ । अस्ट्रेलियामा यो प्रजाति उत्पत्ति भएको पाइन्छ । त्यस्तै हो भने अस्ट्रेलिया मरुभूमि भइसक्थ्यो । जमिनमुनि पानीको सतहसम्म यो रुखको जरा नै जाँदैन । जरा नै गएन भने भूमिगत जललाई कसरी सुकाउँछ । तीन चार दशकयता हामीले एउटै प्रजातिका रुख मात्रै रोप्यौैँ । त्योसँगै निम, अमलालगायत स्थानीय प्रजातिका रुख समावेश गरेर रोपेको भए अहिले जुन गलत हल्ला फैलिएको छ, त्यो हुँदैनथ्यो । रुख भएको ठाउँमा स्याहार पनि गर्नुपर्दो रहेछ । रुखबाट पात झरेपछि त्यसलाई हटाउनु पर्छ । हामीले त्यो गरेनौँ अनि तलको माटो सुक्खा जस्तो देखियो । त्यहीँ ठाउँमा तरकारी खेती गरेको भए पनि माटो खनजोत हुन्थ्यो र पुनः चव्रm भइरहन्थ्यो । विशुद्ध रूपमा मसलाको रुख रोपेर छोडिदिए । त्यसले गर्दा त्यस्तो अनुभूति भएको हो । वास्तविक रूपमा यसले सुक्खा नै गरेको हो भनेर अध्ययनले देखाएको छैन । हुर्किसकेको, छिपिएको रुख त काट्नु पर्छ । त्यसबाट फाइदा लिनु पर्छ तर एकै चोटि काट्दा पर्यावरणलाई झन् बढी क्षति पु¥याउँछ । यस सन्दर्भमा अनुसन्धान तथा प्रस्ट पार्न वन अनुसन्धान विभागका विज्ञ टोलीलाई छिटै बोलाउँदै छौँ । गोरखापत्रबाट