अवैध उत्खननमा संलग्न धनुषामा तीन जना क्रसर उद्योगीमाथि मुद्दा दायर

|

ढल्केबर, धनुषा । डिभिजन वन कार्यालय धनुषाले तीन जना क्रसर उद्योगका सञ्चालक उपर अदालतमा मुद्दा दायर गरेको छ । राष्ट्रिय वन क्षेत्रबाट अवैधरुपमा वन पैदावरको उत्खनन तथा ओसारपसार कार्यमा संलग्न रहेको आरोपमा जय बजरङ्ग बालुवा प्रशोधन उद्योगका सञ्चालक बेचन ठाकुर बरही, रामबाबु ठाकुर बरही र कमलामाई क्रसर उद्योगका सञ्चालक सञ्जय शर्मामाथि मुद्दा दायर गरिएको हो ।

डिभिजन वन कार्यालय धनुषाका डिभिजलन प्रमुख बेचन चौधरीले वन पैदावारको अवैध उत्खनन् गरेर ओसारपसार गर्दैआएको सूचनाको आधारमा वन कर्मचारी तथा प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको स्काइभेटर मेसिन र क्रसर उद्योगका सञ्चालकविरुद्ध जिल्ला अदालत धनुषामा मद्दा दायर गरेको बताउनुभयो ।

धनुषाको कमला नदी वन क्षेत्रमा बालुवा उत्खनन कार्यमा संलग्न रहेको अवस्थामा ना १ क ८९५५ र बा २ क ६३१७ नम्बरको स्काइभेटर सव डिभिजन वन कार्यालय गोदारले स्थानीय प्रहरीको सहयोगमा बरामद गरी डिभिजन वन कार्यालयमा जाहेरी दिएपछि सोही आधारमा मुद्दा चलाइएको उहाँले जानकारी दिनुभयो ।

वन कर्मचारीले २०८० जेठ २ गते सो स्काइभेटर बरामद गरेको थियो । बरामद भएको स्काइभेटर त्यसका सञ्चालकमाथि एक वर्षभन्दा बढी समयपछि मुद्दा दायर गर्ने काम भएको छ ।

दायर मुद्दामा प्रतिवादी बनाइएका तीनै जना हाल फरार रहेको उल्लेख गरिएको छ । वन क्षेत्रबाट उत्खनन गरेर जम्मा गरेका बालुवा डिभिजन वन कार्यालयले जफल गरेका छन् भने बरामद भएको स्काइभेटर लिलामीको माग गर्दै वन पैदावरको परिमाणको आधारमा विपक्षीबाट एक लाख ५५ हजार रुपियाँ जरिवानाको माग दाबी मुद्दामा गरेको छ ।