ढल्केवर, धनुषा । डिभिजन वन कार्यालय धनुषाले अवैधरुपमा वन पैदावर रोखेको अभियोगमा सःमिलका सञ्चालकविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ । धनुषाको धनुषाधाम नगरपालिका–८, मुलाबारीमा रहेको नायक सःमिल तथा फर्निचर उद्योगका सञ्चालक चन्द्रकला देवी र उहाँको पति बालकिशोर नायकविरुद्ध मुद्दा दायर गरेको हो ।
नायक सःमिल तथा फर्निचर उद्योगमबाट अवैध सालको काठ बरामद भएपछि त्यसका सञ्चालकविरुद्ध जिल्ला अदालत धनुषामा मुद्दा दायर गरिएको बताउनुभयो । चारनाथ सव डिभिजन वन कार्यालयबाट खटिएको गस्ती टोलीले सो सःमिलबाट १६१.७४ क्युफिट सालको काठ बरामद गरेको उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार सःमिलबाट बरामद सालको काठ १६१ क्यूफिट रहेको छ । सो काठलाई गोलियामा परिणत गर्दा २२६ क्यूफिट हुन्छ जसको मुख्य दुई लाख ८१ हजार ६४९ रुपिया मुल्य कायम गरिएको छ ।
डिभिजन वन कार्यालयले बरामद गरेको सो काठ जफत र कसुर बमोजिम सःमिलका सञ्चाकमाथि सजायको माग गरेको छ । वन कर्मचारीले २०८० कार्तिक ३० गते काठ बरामद गरेको थियो । काठ बरामद भएको झण्डै आठ महिनापछि मुद्दा दायर भएको छ । दायर मुद्दामा प्रतिवादी बनाइएका दुई जना फरार रहेको उल्लेख गरिएको छ ।