सात सय पचास विपन्नको घरमा निःशुल्क विद्युत मिटर जडान

|

विजयकुमार साह
ढल्केवर, धनुषा । नेपाल विद्युत प्राधिकरण धनुषाको धनुषाधाम वितरण केन्द्रले ७५० घरमा निःशुल्क विद्युत मिटर जडान गरिएको छ । धनुषाधाम वितरण केन्द्रले सेवा क्षेत्रअन्तर्गत बसोबास गर्ने विपन्नको घरमा निःशुल्क विद्युत मिटर जडान गरिएको हो ।

धनुषाधाम वितरण केन्द्रका प्रमुख रोशनकुमार सिंहले पिछडिएका तथा आर्थिकरुपमा विपन्नको घरमा विद्युतको पहुँच पु¥याउने उद्देश्यले निःशुल्क विद्युत मिटर जडान गरिएको बताउनुभयो । उहाँहरुलाई प्राधिकरणको मापदण्डअनुसार ५–३० एम्पिएर क्षमताको बक्ससहितको सिङ्गल फेल इनर्जी मिटर, एमसिबी बक्स र सर्भिस केबल जडान गरिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कोही नागरिक पनि विद्युत उपभोगबाट बञ्चित हुनु नपरोस् भनेर विपन्न वर्गलाई निःशुल्क मिटर दिने व्यवस्था गरिएको हो । पैसा अभावमा मिटर राख्न नसकेपछि विपन्न वर्गले हुकिङ् गरी विद्युत प्रयोग गर्दै आएका थिए । निःशुल्क मिटर वितरणपछि चोरी नियन्त्रण भइ विद्युत चुहावट घट्ने र अनाधिकृत प्रयोगमार्फत हुने विद्युतीय दुर्घटना कम हुनेछ ।” निःशुल्क विद्युत मिटर वितरण र निगरानी बढाएपछि दुई प्रतिशतले विद्युत चुहावटमा कमी आएको केन्द्रका प्रमुख सिंहले बताउनुभयो ।

विद्युत मिटर पाएपछि अरुको घरबाट तार तानेर ल्याउनुपर्ने र हुकिङ् गर्नुपर्ने अवस्थाको अन्त्य भएको मिटर प्राप्त गर्नेहरुले जनाएका छन् । आफ्नै घरमा विद्युत मिटर छिमेकीबाट महङ्गो विद्युत खरिद गर्नुपर्ने समस्याको हल भएको र नेपाल विद्युत प्राधिकरण हामी विपन्नको साथमा रहेको अनुभूति भएको उहाँहरुको भनाइ छ ।

त्यस्तै, धनुषाधाम वितरण केन्द्रले गत आवमा विद्युत चोरी नियन्त्रण अभियानअन्तर्गत १३० जनालाई कारबाही गरेको छ । विद्युत पोलमा सिधै हुकिङ्ग गरी विद्युत प्रयोग गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरी कारबाही गरेको हो ।

वितरण केन्द्रका प्रमुख सिंहले विद्युत चुहावट नियन्त्रणको क्रममा विद्युत चोरी गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको व्यक्ति, विद्युतीय सामग्री, विद्युत मिटर उपर कारबाही गर्दा जरिवाना वापत ८८ लाख २३ हजार १०२ रुपियाँ असुली भएको बताउनुभयो । मधेश प्रदेशका वितरण केन्द्रमध्ये विद्युत चुहावट नियन्त्रण अभियानअन्तर्गत सबैभन्दा बढी जरिवाना असुली भएको उहाँले दाबी गर्नुभयो ।

यसैगर, वितरण केन्द्रले आर्थिक वर्ष २०८०÷०८१ मा तीन करोड ५४ लाख ८८ हजार १७६ युनिट खपत गरेर २६ करोड पाँच लाख ८२ हजार १२७ रुपियाँको विद्युत बिक्री गरेको छ भने २४ करोड ५३ लाख ५८ हजार ७४१ रुपियाँ असुल गरेको छ । गोरखापत्रबाट