
ढल्केवर, धनुषा । धनुषाको सबैला नगरपालिकाले शुलभ मुल्यको औषधी पसल सञ्चालनमा ल्याएको छ । सबैलास्थित इर्मेजेन्सी अस्पतालकोे हाताभित्र सो औषधि पसल सञ्चालनमा ल्याइएको हो ।
सोमबार सबैला नगरपालिकाका नगर प्रमुख कारीराम यादवले इर्मेजेन्सी अस्पताल हाताभित्र सञ्चालन ल्याइएको शुलभ मुल्यको औषधि पसलको उद्घाटन गरे । उद्घाटन गर्दै उनेले यस औषधि पसलबाट औषधि खरिद गर्ने सेवाग्राहीलाई १० प्रतिशत छुट पाउन बताए ।
नगर प्रमुख यादवले औषधि पसल सञ्चालनमा ल्याउने तयारी गरेपछि यहाँका केही व्यक्तिले मेयरले अब व्यापार गर्न लाग्यो भनेर आरोप लगाएको बताउँदै नगरपालिका क्षेत्रभित्र सञ्चालित औषधि पसल १५ दिनभित्र नगरपालिकामा दर्ता गराउन अन्यथा कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने जनाए ।
उनले इर्मेजेन्सी सेवालाई थप व्यवस्थित बनाउँदै लैजाने बताए । उनले भने, “अहिले नगरपालिकाद्वारा प्राथमिक स्वास्थ्य केन्द्र सबैलामा इर्मेजेन्सी अस्पताल सञ्चालनमा छ । स्वास्थय केन्द्रलाई नै अस्पताल स्तरोन्नति गर्न पहल गरिरहेको छु ।”
सबैला नगरपालिका ३ नम्बर वडाका वडाध्यक्ष ताहिर मियाले सबैलामा स्वास्थ्य क्षेत्रमा धेरै राम्रा–राम्रा काम भएको बताउँदै शुलभ मुल्यको औषधी पसल सञ्चालनले सेवाग्राहीलाई फाइदा पुग्ने बताए ।